
हृदय भुसाल
अर्घाखाँची २ चैत्र । पाणिनि गाउँपालिका ५ का ८२ वर्षिय प्रेमनारायण भटराईलाई सरकारी कार्यालयबाट पाउने सेवा सुविधा गाउँमा पाउँदा निकै खुसी लाग्यो ।
जिल्ला सदरमुकामबाट पाइने सेवा सुविधा सरकारी टोली गाउँमै आएर दिँदा उनी मात्र होइन घुम्ती शिविरमा आएका सबै प्रफुल्लित भए । ‘सरकार भएको महसुस अहिले आएर गर्न पाईयो’ भट्टराइले भने, ‘फेरिफेरि पनि यसैगरि गाउँमै आएर सेवा दिनु पर्यो ।’ ‘ डाक्टरसावबाट उपचार गर्न पाएँ’ ७१ वर्षिया बालकुमारी गौतमले भनिन, ‘सन्धिखर्क पुगेर कसरी उपचार गरि आउने होला भन्ने चिन्ताले पिरोलेको थियो,अब निको हुने आशा पलाएको छ ।’
जिल्ला प्रशासन कार्यालय,अर्घाखाँचीको आयोजना र पाणिनि गाउँपालिकाको समन्वयमा तथा आर्थिक सहयोगमा दुर्गाफाँटमा सञ्चालन भएको एकिकृत घुम्ती शिविरमा जिल्लाका १४ वटा कार्यालयहरुले सेवा दिएका थिए । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवा अन्तर्गत तिन सय भन्दा बढी नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले वताए । ‘नयाँ सविधान बनेपछि सिंहदबारको अधिकार गाउँगाउँमा भन्ने नारा दिए पनि नागरिकहरुले अधिकारको प्रयोग गर्ने र प्रत्येक्ष अनुभूति गर्न पाएका थिएन्न’ उनले भने, ‘एकिकृत घुम्ती शिविर सञ्चालन पछि नागरिकले सरकार आफूहरुको नजिक भएको महसुस गर्न पाए ।’
घुम्ती शिविरमा पाणिनि २ का ६९ वर्षिय तुल्सीराम सुर्यवंशीले नागरिकता लिए । उनले गाँउमै नागरिकता पाउँदा निकै खुसी लागेको वताए । अर्का ८२ वर्षिय रामलाल बेल्वासे भने, ‘गाउमै डाक्टरवाट स्वाथ्य परिक्षण गराउन पाएँ, खुसी छु, खासै रोग पनि केही छैन भने,आजबाट मनमा धेरै शान्ति मिलेको छ’ ।
शिविरमा तिन सय भन्दा बढी नागरिकता वितरण,पाँच सय ५ जनाको जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत स्वास्थ्य परिक्षण गराएका छन् । त्यस्तै सात सय ५० भन्दा धेरैले आखाँ परिक्षण गराए । जिल्ला आयुर्वेद कार्यालय मार्फत स्वाथ्य परिक्षण, सिम कार्ड वितरण,कृषि ज्ञान केन्दले कृषकको माटो परीक्षण गरिदिएको छ ।

निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम लेखाउने, प्रहरीले साईवर अपराध एवं सवारी दुर्घटना सम्बन्धी सामुदायिक प्रहरी सचेततनामुलक कार्यक्रम, घरेलु कार्यालय अन्तर्गत फर्मदर्ता तथा नविकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले वताए ।
पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युच गौतमले शिविरमा धेरै जनताले सेवा लिएको भन्दै शिविरलाई अब स्थानीय तहवाट नियमित गर्ने योजना वनाएको बताए । गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले शिविरमा महिलाहरुले खुलेर स्वास्थ्य परिक्षण गराएको बताउँदै अव जनताको माग र आवश्यकता अनुसारका विभिन्न शिविर तथा कार्यक्रम सञ्चालन गर्ने वताईन ।
जिल्ला प्रशासन कार्यालय आयोजक रहेको शिविरको आर्थिक व्यवस्थापन मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गतको आठ लाख ५० हजार र पालिकाको केहि रकम समेत थप गरि शिविर सञ्चालन गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम जिल्ला सहजकर्ता भरत न्यौपानेले वताए ।
शिविरमा धेरै वृद्धवृद्धालेले जेष्ठ नागरिक प्रमाण पत्र लिएको प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले वताए । जिल्ला प्रशासन कार्यालयले गाउँ/गाउँका नागरिकलाई प्रत्येक्ष सुविधा होस भन्ने मुख्य उदेश्यका साथ यस्तो खालको शिविर स्थानीय तहको समन्वयमा सञ्चालन गर्दे आएको छ ।












प्रतिक्रिया