बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

सरकारी प्रतिबन्धपछि विप्लव समूहले आकस्मिक बैठक बोलायो

दैनिक नेपाल २०७५ चैत १ गते १६:२४

काठमाडौँ, १ चैत । मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेकपाले पोलिटब्युरोका आकस्मिक बैठक बोलाएको छ । विप्लव नेकपाले नयाँ परिस्थितिबारे समीक्षा गर्न र भावी रणनीति तयार गर्न बैठक बोलाएको हो ।

पोलिटब्युरो सदस्य ओमप्रकाश पुनका अनुसार बैठकमा नयाँ राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ । सरकारले आकस्मिक रुपमा दलमाथि नै प्रतिवन्ध लगाएको र आफ्ना नेता, कार्यकर्तामाथि धरपकड सुरु गरेको भन्दै नेकपाले बैठक बोलाएको बताइएको छ ।

बैठक शुक्रबारबाट सुरु भएको हो । बैठकमा संगठनात्मक संरचना, युद्धको कार्यशैली र नेताहरुको जिम्मेवारीसमेत हेरफेर हुनसक्ने बताइएको छ । यसअघिको संरचना र जिम्मेवारीबारे सरकारी संयन्त्र जानकार रहेकाले नयाँ रणनीति अपनाउन लागिएको स्रोतको दावी छ ।

सैन्य दस्ता तयार पारेर हतियारको तालिमसमेत चलाएको विप्लव समूहले बैठकबाट कतिपयले जनयुद्धको घोषणा गर्नसक्ने अड्कलबाजी गरेका छन् । तर, जनयुद्धको औपचारिक घोषणा गर्ने वा अहिलेकै गतिविधिलाई व्यवस्थित बनाउने भन्नेबारे नेकपा अन्तिम टुंगोमा पुगिसकेको छैन ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तत्काल जनयुद्ध घोषणा गरेर जाने पक्षमा नरहेको स्रोतले बताएको छ । तर, बहुमत नेताहरु जनयुद्धको घोषणा गरेर नै जाने पक्षमा देखिएका छन् । सरकारले युद्धको घोषणा गरिसकेकाले पार्टीले ढिलो गर्न नहुने उनीहरुको तर्क छ ।

सरकारको प्रतिबन्ध लगाएपछि आफ्नो कार्यशैली र संगठनमा परिमार्जन गर्न विप्लव समूहले बैठक बोलाएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित