मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

दिलिपसिंह विष्टलाई पक्राउ गर्न निर्मलाकी आमा दुर्गादेवीको आग्रह

दैनिक नेपाल २०७५ फागुन ३० गते १७:२१

फाइल तस्वीर

काठमाडौँ, ३० फागुन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणले नयाँ मोड लिएको छ । आमा दुर्गादेवीले यसअघि प्रमाण नपुगेर छुटेका दिलिपसिंह बिस्टलाई फेरि पक्राउ गर्न आग्रह गरेकी छन् । विष्टले नै आफ्नी छोरीको हत्या गरेको दुर्गादेवीको शंका छ ।

सुरुवातमा उनले विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्षमा पुगेको दूर्गादेवीको तर्क छ ।

उनले बयानको भिडियो आफूलाई कसैले नदेखाएको र केही दिन अगाडि मात्रै भिडियो हेरेको बताएकी छन् । साथै, उनले भिडियोमा विष्टले बताएका घटना विवरण सबै सत्य रहेको दाबी गरेकी छन् । दुर्गादेवी विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा पुगेकी छन् ।

यसअघि दुर्गादेवीले ८ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिइसकेकी छन् । विहीबार मात्रै जिल्ला अदालतले डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश दिएको छ । उनीहरूसँग यातनामा ५/५ लाख र सार्वजनिक न्यायमा ४/४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको हो ।

यस्तै, इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको छ । यी प्रहरीविरुद्ध दुर्गादेवीले मुद्धा दायर गरेपनि पछि फिर्ताको लागि निवेदन दिएकी थिइन् ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको एक मात्र अभियुक्त रहेको भन्दै भदौ ४ गते पत्रकार सम्मेलन गरी दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीसँगको बयानमा विष्टले अपराध कबुल पनि गरेका थिए । तर, कञ्चनपुरका स्थानीयवासी र मानवअधिकारकर्मीहरुले  उनलाई फसाइएको भन्दै तीव्र विरोध गरेका थिए ।

साथै, विष्टको मानसिक स्वास्थ्यको विषयमा पनि प्रश्न उठेपछि सरकारी वकिलको कार्यालयले स्वास्थ्य जाँच र डीएनए परीक्षणका लागि काठमाडौं ल्याएको थियो । परीक्षणमा उनको स्वास्थ्य सामान्य देखिएपनि डीएनए रिपोर्ट भने निर्मलाको भजाइनल स्वाबमा मिलेको थिएन । डिएनए नमिलेपछि उनी रिहा भएका थिए ।

गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी निर्मला भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा बलात्कार गरि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । घटना भएको ८ महिना हुँदा पनि हत्यारा र बलात्कारी पक्राउ पर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित