बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

कोमल वलीले राष्ट्रिय सभामा माफी माग्दै भनिन्–‘उखानले पर्ने हानी बारे मैले सोचिनँ’

दैनिक नेपाल २०७५ फागुन २९ गते १५:२०

-सुर्य नेपाली/दैनिक नेपाल

काठमाडौं, २९ फागुन । सांसद कोमल वलीले आफूले प्रयोग गरेको उखानबाट नेपाली समुदायमा परेको हानीप्रति राष्ट्रिय सभामा क्षमा मागेकी छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उक्त उखानको प्रयोगले गर्ने असरका बारेमा आफूले नसोचेको वलीले बताइन् ।

आफूले जीवित हुँदा नै केही गर्ने मन भएको तर मृत्युपछिको सम्मानलाई विस्वास नगर्ने भन्ने भनाईलाई अभिव्यक्त गर्न उक्त उखान प्रयोग गरेको उनले प्रष्टाइन् ।

नेपाली उखान तथा वाक्यांश प्रयोगमा सबैले ध्यान दिनुपर्ने भन्दै वलीले भनिन्, ‘म पनि अहिले अनलर्निङको प्रक्रियामा छु र समाज पनि यहि प्रक्रियामा छ ।’ हिजोका कुविचार, व्याख्या, भनाई तथा उत्पिडनहरु परिवर्तन हुँदै जानुपर्नेमा उनको जोड छ ।

पुराना कुतिपय उखानले कुनै जाति वा सम्प्रदायलाई होच्याउने देखिएकाले बदलिँदो समयसँगै त्यस्ता उखान प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने सांसद वलीले बताइन् ।

उक्त उखान आफूले अपरझट प्रयोग गरेको भन्दै वलीले भनिन्, ‘तात्कालीन समयमा यसले पुर्‍याउने हानीका बारेमा मैले सोचिन ।’ उनले थपिन्, ‘मैले प्रयोग गरेको उखानका कारण कुनै सम्प्रदायमा कुनै चोट पुग्न गएको भए म क्षमायाचना गर्दछु ।’

सांसद वलीले कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई सो’ मा ‘आफू मरिसकेपछि डुमै राजा’ भन्ने उखान प्रयोग गरेकी थिइन् ।

उनले प्रयोग गरेको उखानले कथित दलित समुदाय अन्तर्गत पर्ने डुम जातिको आत्मसम्मानमा ठेस पुगेको भन्दै अधिकारकर्मीहरुले कारबाहीको माग गरेका थिए । उक्त विषयमा दैनिक नेपालले पनि नियमित ‘फ्लो अप’ गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित