३१ आश्विन २०८३, शनिबार

महामण्डलेश्वर बने दलित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाहाबाद, ३ माघ । सन्त कन्हैया प्रभुनन्द गिरि महामण्डलेश्वर बनेका छन्। प्रयागमा चलिरहेको कुम्भ मेलाको पहिलो दिन शाही स्नानपछि अखिल भारतीय अखडा परिषद्ले उनलाई उक्त उपाधि दिएको हो।

उनले दलित र पिछडिएका व्यक्तिलाई शोषण हुन्छ भन्दै धर्म परिवर्तन गरेका व्यक्तिलाई पुख्र्यौली धर्ममा फर्कन आह्वान पनि गरेका छन्। उनी जुना अखडासँग सम्बन्धित छन्।

उनले भने, ‘म चाहन्छु, विभेद भयो भनेर धर्म परिवर्तन गरी इस्लाम, ईसाई बनेका मेरा समुदायका व्यक्तिलाई सनातन धर्ममा फर्कन आग्रह गर्छु। म जुना अखडाको प्रमुख भएको उदाहरण दिन चाहन्छु।’

कन्हैया प्रभुनन्दले आफूले पनि कैयौंपटक जातिगत अपमान र शोषण सहनुपरेको बताए। नव महामण्डलेश्वरले विगतको तीतो स्मरण गर्दै भने, ‘सन् १९९९ मा चण्डीगढमा शिख गुरुको आगमनका बेला प्रवेश गर्दा केहीले रोके।

उनीहरूले शूद्रलाई यस्तो अनुमति नभएको भन्दै अप्ठेरोमा पारे। आज उनीहरू मसँग झुक्छन्। म एक धार्मिक नेता हुँ र जातिगत मानसिकताविरुद्ध लडिरहनेछु।’ आज रथमा शाही स्नानका लागि मलाई रथमा बसाइयो। मेरा वरिपरि सबै श्रद्धालु बाजा बजाएर नाचिरहेका छन्। मेरा समुदायका व्यक्ति पनि यो सम्मानका लागि योग्य भएका छन्।’

आफूले संस्कृत पढ्न चाहेको र कट्टरपन्थीका कारण त्यो बेला सम्भव नभएको उनले बताए। उनले भने, ‘ जगद्गुरु पञ्चानन महाराजको शरणमा आएँ। उहाँले पलाई शिक्षा दिनुभयो र मन्दिरको पुजारी बनाउनु भयो। त्यो बेला पनि आफूमाथि केहीले हातपात गरे।’

उनले यस्ता शिल्पीहरू एकलव्य र कर्ण भएको बताए। आफूहरूमा पनि अशोक र चन्द्रगुप्त मौर्य भएको उनले चर्चा गरे। उनले भने, ‘संघर्ष गरेर हामी अगाडि बढ्छौं र सफल हुन्छौं।’ सन्न्यास लिनुपूर्व उनी कन्हैया कुमार कश्यप थिए।

उनले सन् २०१६ मा उज्जैन सिंहस्‍थ कुम्भका बेला जुना अखडाका महन्त पञ्चानन गिरिबाट सन्न्‍यास लिएका थिए।

उनले धार्मिकका साथै सामाजिक क्षेत्रमा सुधार गर्ने बताएका छन्। उनले गरिबका लागि निःशुल्क शिक्षा, स्वास्थ्योपचारको व्यवस्था गर्दै आएका छन्। समाजमा दबाइएका समुदायको सामाजिक प्रतिष्ठा उठाउन यात्रा गर्ने उनले जानकारी दिएका छन्।