९ कार्तिक २०८३, सोमबार

शंकास्पद भिसामा नेपाल किन छिरे यी दुई नाइजेरियाली ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । शंकास्पद प्रवेशाज्ञा (भिसा) वाहक दुई नाइजेरियाली पक्राउ परेका छन्। नाइजेरियाको राहदानीमा भएको नेपालको भिसा शंकास्पद देखिएपछि नेपाल प्रवेश गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई समातेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्। नाइजेरियाली नागरिक नेपाल आउन नजिकको मुलुकमा रहेको नेपाली दूतावास वा कन्सुलेट कार्यालयबाट भिसा लिनुपर्छ। त्रिवि अध्यागमन कार्यालयले गत शुक्रबार र शनिबार नाइजेरियाली नागरिक ओनुओरा नेवेचुकवा र अजम एन्थोनीलााई नियन्त्रणमा लिएको हो। नाइजेरियाका नागरिक विगतमा लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा समेत संलग्न भएको पाइएको थियो।

केही दिनअघि थाइल्यान्डको अध्यागमनले नेपालको नक्कली भिसा प्रयोग गरेका तीन टर्किस नागरिकलाई फिर्ता गरेको थियो। भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका एकै परिवारका उनीहरू बैंकक जाने क्रममा त्यहाँको विमानस्थलबाटै फिर्ता भएका थिए। उनीहरूले प्रयोग गरेको ग्रिसको राहदानीमा नेपालको नक्कली भिसा स्टिकर थियो। उनीहरूले समेत आफूहरूले भारतमा नेपाली भिसा लिएको बताएका थिए। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

समातिएका दुई नाइजेरियाली अध्यागमन विभागको हिरासतमा छन्। उनीहरूसमेत नेपालको नक्कली भिसा प्रयोगकर्ता हुन्। कतार एयरलाइन्सबाट काठमाडौं ओर्र्लिएका उनीहरूलाई त्रिवि अध्यागमनका डेस्क अधिकृतले नेपाली भिसा शंकास्पद रहेको भन्दै पक्राउ गरेका थिए। उनीहरूको राहदानीमा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावास र केन्याको नैरोवीबाट नेपाली भिसा जारी भएको देखिएको छ। तर उनीहरूले प्रयोग गरेको नेपाली भिसा नक्कली भएको त्रिवि अध्यागमनका एक अधिकृतले बताए। उनीहरूको राहदानीमा भएको नेपाली भिसा नेपाली दूतावास वा कन्सुलेट कार्यालयले जारी नगरेको ती अधिकृतले बताए।

तर नेपालको जाली भिसा कहाँ र कसले बनाउँछ भन्नेबारेसमेत खुलेको छैन। उनीहरूको राहदानीमा भएको नेपाली भिसा प्रचलित भिसाभन्दा फरक प्रकृतिको छ। अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान थालेको छ। जाली राहदानीमा नेपाल प्रवेश गर्न खोज्नुले उनीहरूको यात्रासमेत शंकास्पद देखिएको छ। नेपालको जाली भिसा प्रयोग गर्नुले उनीहरू कतै आपराधिक गतिविधिमा संलग्न व्यक्ति त होइनन् भन्ने प्रश्न उब्जाएको छ।

एजेन्टको सहयोगमा आफूहरूले नेपाली भिसा लिएको उनीहरूले प्रारम्भिक बयान दिएका छन्। मेसिन रिडेबल भिसा नहुँदा कैयौं विदेशीले नेपालको जाली भिसामा विभिन्न मुलुक ओहोरदोहोर गरेको पाइएको छ। गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट सबै विधामा मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरिसकेको छ।नाइजेरियाली राहदानीमा नक्कली भिसा
नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्।