शुक्रबार, २७ पुष २०७५
DainikNepal.com
शुक्रबार, २७ पुष २०७५

प्रदेश पाँचमा एउटै गाडीको फरक–फरक मूल्य, लेखाले थाल्यो छानबिन

दैनिक नेपाल २०७५ पुष २७ गते ७:५९

काठमाडौं, २७ पुस । प्रदेश ५ मा संसद् र मन्त्रालयले एउटै गाडी फरक–फरक मूल्यमा खरिद गरेको भेटिएपछि लेखा समितिले छानबिन थालेको छ । प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मूल्य तीनथरी भेटिएपछि अनियमितताको शंका गरिएको हो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका ४ गाडीको फाइल मगाएको छ । केही मन्त्रालयले बिहीबारसम्म फाइल बुझाइसकेका छन् । अन्य फाइल आज (शुक्रबार) आइपुग्ने र दिउँसो बस्ने समिति बैठकमा पेस गरिने समिति सभापति डिल्ली चौधरीले बताए । समितिले उपसमिति बनाएर पनि अध्ययन गर्ने सक्ने उनको भनाइ छ ।

प्रदेश सभाले ७१ लाख ९५ हजारमा खरिद गरेको टाटाको स्ट्रोम गाडी कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजारमा किनेको थियो । सोही गाडी उद्योग मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेको हिसाब देखाएको छ ।

महिना दिन नपुग्दै बिग्रिए गाडी

किनेको महिना दिन नपुग्दै केही गाडी बिग्रिएका छन् । महँगो मूल्यमा खरिद गरिएका गाडी एक महिनामै बिग्रिएपछि अनियमितता भएको थप शंका उब्जिएको छ । लेखा समितिका सभापतिकै गाडी बिग्रिएपछि गत सोमबारको लेखा समितिको बैठकमै सांसदहरूले अनियमितताको बलियो आशंका गर्दै आवाज उठाएका थिए । सोही बैठकले सबै गाडीका फाइल मगाउने निर्णय गरेको थियो । संसद्का विभिन्न समितिका सभापति, प्रमुख प्रतिपक्षी दलका नेता, सत्तापक्षका प्रमुख सचेतकलगायतका लागि ती गाडी किनिएको हो ।

विवादमा मुछिए नेकपाका प्रमुख सचेतक

गाडी खरिद प्रकरणमा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाल विवादमा तानिएका छन् । उनको लगानी रहेको ‘सफल अटो’मार्फत गाडी ल्याइएकाले ढकालको संलग्नता हुन सक्ने सांसदहरूले बताएका छन् । तर, ढकालले भने गाडी खरिद प्रक्रियामा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । ‘कहीँकतै अनियमितता भएको छ भने खोजी गर्नुपर्छ, लेखा समितिले छानबिन गरेर सत्य–तथ्य बाहिर ल्याओस्,’ ढकालले भने । उनले ती गाडीको मूल्य हाल खरिद गरिएको भन्दा ४–५ लाख कम रहेको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित