बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

चर्चित लोक गायिका विष्णु माझी : ‘गाउन जान्ने’लाई बोल्न नजान्ने भन्दै किन बन्दी ?

दैनिक नेपाल २०७५ पुष २६ गते १४:१९

काठमाडौं । ‘मिस्ट्री क्वीन’ नाम दिइएकी लोक गायिका विष्णु माझीमाथि उनका पति सुन्दरमणि अधिकारीले गम्भिर शोषण गरेको प्रष्ट भइसकेको छ ।

सुन्दरमणिले उनीमाथि अन्य ज्यादति पनि गरेको हुनसक्ने भन्दै स्याङ्जा प्रशासनले झिकाउन लगायो । सुन्दरमणि आफु पक्राउ हुनसक्ने त्रासका कारण विष्णुलाई लिएर केही अघिल्लो साता स्याङ्जा पुगे । त्यहाँ, प्रशासन प्रमुखसँग उनको सवालजवाफ पनि भयो । तर, सुन्दरमणिले त्यो सवाल जवाफका क्रममा दिएका कतिपय उत्तरले विष्णुमाथि उनको एकाधिकार कायम भएको प्रस्टिन्छ ।

त्यतिमात्र होइन, सुन्दरमणिको इच्छाका आधारमा मात्र विष्णुु कठपुतली बनिरहेको पनि प्रष्ट हुन्छ । किनकी प्रशासनमा उपस्थित हुँदा नै एउटा अभियुक्त जस्तो कालो कपडाले पुरै ढाकेर सुन्दरमणिले उपस्थित गराए । यहाँसम्मकी विष्णुले आफ्ना बाबुदेखि आफन्तलाई पनि ११ बर्षपछि भेटिन् ।

शोषण भनेको यौन अथवा शारिरीक हिंसामात्र होइन, उसको बोल्न पाउने, सार्वजनिक हुन पाउने अधिकारमाथिको हनन् पनि हो । माझीको ‘स्वर बेचेर’ अझै गुजारा चलाइरहेका सुन्दरमणि अधिकारीको उत्तरप्रति प्रशासन गम्भिर हुन पर्छ की पर्दैन ? मानवअधिकारकर्मीले बोल्न पर्छ की पर्दैन ? केही जवाफ र त्यसमाथिको दैनिक नेपालको टिप्पणी यस्तो छ ।

–प्रहरीसँग नै सुुन्दरमणिको अभिव्यक्ति थियो -उनी बोल्न जान्दिनन्, धेरै पढेकी छैनन् । त्यसकारण हामी सार्वजनिक नभएका हौं ।

टिप्पणी : गाउन जान्नेलाई बोल्न नजान्ने भन्न मिल्छ ? उनको गायनको गीतबाट आएको रकमले गुजारा चलाउने, आफ्नो सौख पुरा गर्ने अनि उनलाई दुनियाँबाट बञ्चित गराउन मिल्छ सुन्दरमणिले ?

–अन्तरजातिय विहे गरेका कारणले पनि हामी केही खुल्न सकेनौं त्यसैले गोप्यतामा बसेका हौं ।

टिप्पणी : नेपालको कानुनले कुनै पनि बिहेलाई मान्यता दिएको छ । त्यसमाथि सेलिब्रिटीको वैवाहिक जीवन भन्दा उसको काम महत्वको हुन्छ । उसका प्रशंशकले वैवाहिक जीवनलाई प्रवाह गर्ने भए प्रायः सेलिब्रिटी लुक्नु पर्ने हुन्थ्यो । सुन्दरमणिले यस्तो कुतर्क गर्न मिल्छ ?

–प्रहरीसँग नै सुुन्दरमणिको आक्रोशपूर्ण अभिव्यक्ति थियो । उनले जवाफ दिने क्रममा भनेका थिए,‘मेरो उद्देश्यअनुसार नै उनलाई मिडियाभन्दा टाढा राखेको हुँ । म केही गर्न चहान्छु !’

टिप्पणी :चर्चित गायिकालाई मिडियामा आउन नदिएर सुन्दरमणिको कुन चाहीँ इच्छा विष्णुले पुरा गरिदिनु पर्ने हो ? बन्दी बनाएर सुन्दरमणिका इच्छा पुरा गरिदिनुपर्ने विष्णुको बाध्यता हो ? उनको मानवअधिकार खोई ?

–विभिन्न स्टेज सोका लागि प्रस्ताव नआएका होइनन् । तर, मलाई पनि लैजानु भन्दा विष्णुको मात्र डिमान्ड भयो, त्यसकारण मैले जान दिइन । उनी लेखपढ नगरेका कारणले समस्यामा पर्लिन् भनेर ।

टिप्पणी : स्टेज सो भनेको स्रोता र दर्शकको मागअनुसार हुन्छन् । हरेक गायकगायिकाका पति वा पत्नीलाई बोलाउन सम्भव हुँदैन । आयोजकले विष्णु माझीको स्वरको पैसा तिर्ने हो, सुन्दरमणिको रमाइलोको होइन । यसकारण सुन्दरमणिको इच्छा पुरा नहुँदा विष्णुले विश्व भ्रमण गर्ने, प्रशंशकको माग पुरा गर्न नहुने ? यो कुन मानवअधिकारको क्षेत्राधिकार भित्र पर्छ ?

प्रतिक्रिया
सम्बन्धित