
काठमाडौं, १० कात्तिक । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका वरिष्ठ राजनीतिक तथा सुरक्षा निकायका नेतृत्वहरूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र गतिशील बनाउने विषयमा छलफल भएको छ ।
पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्सँग छुट्टा छुट्टै शिष्टाचार भेट गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेललाई चिनियाँ सरकारको तर्फबाट एक सैनिक टुकडीले उनको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको मुख्यालयमा सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा नेपाल र चीन दुवै देशका राष्ट्रिय धुन पनि बजाइएको थियो ।
चीनका रक्षा मन्त्रीले नेपाल र चीन असल छिमेकी मुलुक हुनुका साथै दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको चर्चा गरे । उनले आठौँ सियाङसान फोरममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले सियाङसान फोरममा दिएको मन्तव्यका लागि बधाई ज्ञापन गरे ।
यस्तै चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष सु छियालिङ्गले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न चीनको तर्फबाट सदैव सहयोग रहने कुरा व्यक्त गरे ।
भेटवार्ताका क्रममा नेपाल चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व¸पारस्परिक सम्मान र एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपलगायत सिद्धान्तका विषयमा पनि चर्चा भएको थियो ।
नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गर्दै सैन्य उपकरणमा आत्मनिर्भर संस्थाको रूपमा विकास गर्ने नेपाल सरकारको योजनामा मित्र राष्ट्र चीनबाट सहयोगको अपेक्षा गरेको रक्षामन्त्री पोखरेलले बताए ।












प्रतिक्रिया