१२ कार्तिक २०८३, बिहिबार

तेह्र वर्षीया पवित्राको यसरी तुहियो सबै चाहना…

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १० कात्तिक । सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले भर्ना गर्न ‘जन्मदर्ता लिएर आऊ’ भन्यो ।

भोलिपल्ट बिहानै उनका बुवा सत्यसिंह ब्लोन–तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा भने, ‘घरमा ट्वाइटेल छ ?’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने, ‘अहँ ।’ ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन ।’ पवित्राका बुवा खिन्न मन लिएर फर्किए । त्यसपछि बन्द भयो, पवित्राका लागि एक किलोमिटर परको स्कुलको ढोका । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष बित्यो । पवित्राका बुवाले न ट्वाइलेट बनाउन सके, न छोरीलाई स्कुल पठाउन । जन्मदर्ता, ट्वाइलेट, स्कुल, गरिबी यी चार शब्दको वरिपरि रिँगिरह्यो पवित्राको स्कुल जाने सपना । उनको बालस्मृतिबाट स्कुल गएका दिन बिस्तारै मेटिँदै छन् ।

पूर्वपश्चिम राजमार्गको सागरनाथ चोकबाट करिब ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ । गाउँको मुखैमा छ वरपीपलको रूख । त्यसैको छायामा छ एउटा दोकान । त्यही दोकान र वरपीपलको छहारीले बताउँछ, गाउँको कथा ।

दशमीको टीका सकिएको दुई दिन बितिसक्यो । तर यो गाउँमा पुग्दा दसंैको मध्यदिन चलिरहेझैं लाग्छ । बूढो वरपीपलको छहारीमा पलेँटी कसेर बसेका छन् गाउँले । कोही खैनी मोलिरहेका, कोही चुरोटको धूवाँ उडाइरहेका, कोही तास खेलिरहेका । कच्ची सडकमा उडिरहेको धूलो । चरनमा निस्किएको बाख्राको बथान । मोटरसाइकलको घुइँघुइँ ।

चौताराको पूर्वपट्टि एउटा देहाती दोकान छ । दोकानमा राखिएका छन्, जम्बो कोकका रंगीचंगी बोतल । चौतारामा तीनवटा तासको खाल छ । खेल्नेभन्दा हेर्नेको बाक्लो भीड । दोकानदारलाई भ्याइनभ्याइ छ ।

बालकहरू साइकलको टाङमुनि खुट्टा छिराएर किरिङकिरिङ पार्दै धूले सडकमा साइकल बेपत्ता कुदाउँछन् । बाख्राको बथान र मोटरको धूलोले चौतारा छोपिन्छ एकछिन । धूलोले छाडेपछि फेरि देखिन्छ, उस्तै कोलाहल ।

तास खेलिरहेका खेलाडी हौसिएर बुरुक्क उफ्रिन्छन्, बेलाबेलामा । कोही खेल्दाखेल्दै जुरुक्क उठ्छन् अनि दोकानको ठीक पछाडि गएर पिसाब फेर्छन् । हो, ठीक त्यही दोकानको पछाडि छ, पवित्राको जन्मघर । टायलले छाएको, माटोले टालेको, तला नभएको १० धुर ऐलानी जमिनमा बनेको भुइँघर ।

घरमा छिन् पवित्राकी सुस्त मनस्थितिकी आमा । उनको नाम दाङ्मो योञ्जन हो । उमेर कति पुग्यो उनलाई थाहा छैन । किनकि उनको नागरिकता छैन । कान कम सुन्ने बुवा छन्, ४५ वर्षीय । ३ कक्षा मात्रै पढेर छाडेका १५ वर्षीया दाइ गलैंचा बुन्न काठमाडौं गइसके ।

स्कुल नजाने यहाँ उनी मात्रै एक्ली होइनन् । जन्मदर्ता भए पनि स्कुल नजाने बालकालिका गाउँमा धेरै भएको सत्यसिंह बताउँछन् । गलैँचा बुन्न काठमाडौं जानु, रक्सी पार्नु, त्यो रक्सी बोकेर बारा, पर्सासम्म पु¥याउनु, इँटाभट्टामा काम गर्न जानु मियाँखोर गाउँको बाध्यता र जीविकोपार्जनको माध्यम बनेको छ । मियाँखोर गाउँमा मात्रै करिब ८० घर तामाङ जातिको बसोवास रहेको वडा सदस्य लीलबहादुर ब्लोन बताउँछन् ।

मियाँखोर गाउँका कैयन् घरमा दसैंतिहारपछि ताला लाग्छ । कैयन स्कुले बालबालिका अविभावकसँगै नाइट बस चढी काठमाडौं पस्छन् अनि इँटाभट्टाको चिसोमा दिन बिताउँछन् । पवित्राको टोलभन्दा तल्लो टोल छ, मगरहरूको । त्यहाँका मानिस स्कुले छोराछोरी नै बोकेर कामको खोजीमा दिल्ली जाने गरेको श्री प्राथमिक विद्यालयकी शिक्षिका शिवकुमारी गुरुङ बताउँछिन् ।

स्कुलबाट पवित्रा झन्झन् टाढा हुँदै गएको एउटा वर्ष गाउँमा गलैंचा बुन्न जाने हल्ला चल्यो । पवित्रालाई पनि जाऊँजाऊँ लाग्यो । त्यसपछि उनी गाउँलेसँगै मिसिएर काठमाडौं आइन् । गलैंचा बुनिन् । ६ महिना सिकेपछि गलैंचा बुन्न पारंगत भइन् । भन्छिन्, ‘सादा गलैंचा बुन्न आउँछ ।’

शिक्षिका शिवकुमारी जन्मदर्ता नभएकै कारण भर्ना नलिने नियम स्कुलले हटाएको बताउँछिन् । उनी अविभावकप्रति गुनासो गर्छिन् । भन्छिन्, ‘अविभावक जागरुक नभएसम्म बालबालिका स्कुल आउँदैनन् ।’ वडा सदस्य लीलबहादुर ट्वाइलेट नभएकै कारण जन्मदर्ता नदिने नियम अहिले हटाइएको प्रस्ट पार्छन् । तर ती दुवै कुरा ब्लोन परिवारले कसरी थाहा पाऊन् रु