शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

‘उपाध्यक्षलाई अध्यक्षको उम्मेदवार भन्नु स्वाभाविक नै हो’

कुल आचार्य, उपाध्यक्ष, गैर आवासीय नेपाली संघ (एनआरएनए) २०७५ कार्तिक ९ गते १२:१०

कुल आचार्य, उपाध्यक्ष, गैर आवासीय नेपाली संघ (एनआरएनए)

पर्वतको धाइरिङमा जन्मिएका कुल आचार्य बेलायतका एक सफल व्यवसायी हुन्। एनआरएनए युकेका पूर्व अध्यक्ष आचार्यले यस अघि एनआरएनको  युरोप क्षेत्रीय संयोजककोरुपमा पनि काम गरेका थिए। एनआरएनको कल्याणकारी तथा मानवीय सहायता समितिको संयोजक रहीसकेका  आचार्यलाई संघको भावी अध्यक्षको एक बलियो दावेदारको रुपमा पनि हेरिन्छ। एनआरएन दिवसमा भागलिन र दशैं मान्न नेपाल आएका आचार्यसंग हामीले छोटो कुराकानी गरेका थियौं। अन्तर्वार्ताको संपादित अंश:

यस वर्षको एनआरएन दिवस कस्तो रह्यो ?

काठमाडौंमा पहिलो पटक गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विज्ञहरूको विश्व सम्मेलन गरेको छ । विभिन्न देशहरूबाट थुप्रै नेपालीहरू जम्मा भए । उनीहरूले नेपालमा कसरी विकास, लगानी र सहयोग गर्न सकिन्छ भनेर छलफल गरे । विभिन्न क्षेत्रबाट थरीथरीका सुझाव आएका छन् । ती सुझावलाई समेटेर नेपाललाई नयाँ दिशा दिने तयारी एनआरएनएले गरेको छ । समग्रमा यो संमेलन  निकै फलदायी रहेको मैले पाएको छु।

एजेण्डाहरू केके थिए ?

मुख्य एजेण्डा भनेको संसारभरि रहेका नेपाली विज्ञहरूको विज्ञता कसरी नेपालको हितमा उपयोग गर्ने भन्ने नै हो। गैरआवासीय नेपाली संघलाई यो लगानी गर्ने संस्था मात्रै हो भन्ने पनि गरिन्छ। तर वास्तवमा पैसाको मात्रै लगानी नभएर अरु धेरै कुराहरूको लगानी गर्न सकिन्छ । बौद्धिक लगानी गर्न सकिन्छ । हामीले हामी आइसकेपछिको पहिलो बैठकमा संसारभरिका गैरआवासीय नेपाली विज्ञहरूलाई निम्तो गरेर उहाँहरूको विज्ञतालाई नेपालसँग र नेपालको विकासमा कसरी जोड्न सकिन्छ भन्नेबारे नेपालमा एउटा विश्व संमेलन गर्ने भनेर पहिलो बैठकमा निर्णय गरेका थियौँ । त्यसैको फलस्वरुप अहिले हामीले एनआरएन डेका अवसरमा विधान सभा, विज्ञ सम्मेलन तथा शंखमूल पार्कको उदघाटन भरखरै सम्पन्न गरेका छौँ । हाम्रो प्रयास कति सफल रह्यो भन्ने कुराको मूल्यांकन गर्ने जिम्मेवारी तपाईहरूलाई नै छोड्छु । हामीले यसलाई आत्मसन्तुष्टिका साथ केही सुरुवात गर्न सक्यौँ भन्ने रुपमा लिएका छौँ ।

एनआरएनले आयोजना गरेको पहिलो विश्व ज्ञान संमेलनमा छलफलहरु तए, तर उपलब्धि चहिं के भयो ?

यो सम्मेलन अत्यन्तै उपलब्धिपूर्ण रहेको छ । स्वेतपत्र जारी गर्नको लागि तीन महिनाको समय राखिएको छ । त्यहाँ विभिन्न विधाका १६० वटा पेपरहरू प्रस्तुत भएका थिए । १९ वटा समूहमा ल्याएर हामीले प्रस्तुत गरिसकेका छौँ । स्वेतपत्र हाम्रो टिम बनाएर टिमले जारी गर्दै छ । भन्न त तीन महिना भनिएको छ, तैपनि १–२ महिनाभित्रै सक्नुस् भनेर हामीले भनेका छौँ । यो एउटा सुरुवात हो । नेपालभन्दा बाहिर रहेका एक्सपर्टिजहरूलाई जोड्ने प्रयास हो । यति बेला नै ठूलो उपलब्धि भयो, यहाँ यो परिवर्तन भयो, यो प्रोजेक्ट ग-यौं भनेर म धेरै ठूलो कुरा नगरौँ । यो हामीले नेपालसँग कसरी बाहिर बसिरहेका साथीहरूले जोड्न कसरी सक्छौँ भनेर प्रयास ग-यौं । यो पहिलो प्रयास हो । यद्यपि कतिपय साथीहरूले प्रश्न पनि गर्नु हुन्छ । तपाईहरूको उपलब्धि के हो भनेर ? हामीले स्वेतपत्र बनाएर सम्पूर्ण सरोकारवाला निकायलाई उपलब्ध गराउने छौँ । सरकारलाई पनि दिने छौँ । कार्यान्वयनको चरणमा गएपछि केही समय पक्कै लाग्नेछ । त्यो केही न केही देशको लागि र देशको सम्पूर्ण उन्नतिका लागि कोशेढुंगा हुनेछ ।

बोलाएका मान्छेहरू आएका थिए ?

प्रधानमन्त्री नै उद्घाटन गर्न आउनु भयो । बोलाएका अधिकांश मानिसहरू आउनु भएको थियो । संसारभरिबाट १६० वटा पेपरहरु प्रस्तुत भएका छन् । धेरै विज्ञहरू आउनु भएको थियो । त्यो नै ठूलो कुरा हो । २–३ हप्ताका लागि हामीले विभिन्न चरणमा कार्यक्रम गरेका छौँ । कतिपय साथीहरु आउनुभयो, कति फर्की सक्नुभयो। सेप्टेम्बर २७ तारिखबाट प्रि कन्फरेन्सहरु शुरु भएका थिए । अक्टोबर ११ तारिखमा हाम्रो मुख्य कार्यक्रम थियो । सबैभन्दा ठूलो झण्डोत्तोलन ग-यौं । शंखमुल पार्कको उद्घाटन गयौँ । हाम्रो सचिवालय आफ्नै भवनमा सार्नको लागि कार्यक्रम पनि ग-यौं । अक्टोवर १३ र १४ मा विज्ञ सम्मेलन भयो । पेपरहरू प्रस्तुत भएका थिए ।

तपाईले शंखमूल पार्कको पनि कुरा गर्नुभयो । यो पार्कको निर्माण कसरी भयो ?  अब यसको रेखदेख कसले गर्छ केही बताइदिनुहुन्छ कि ?

शंखमूल पार्क निर्माण परियोजनाको कोर्डिनेशन मैले आफैले नै गरेको थिएँ । पवित्र बाग्मती किनारमा रहेको शंखमूल पार्क तपाई आफै गएर प्रत्यक्ष रुपमा हेर्न सक्नु हुन्छ । बेलुकातिर जानु भयो भने आनन्द लिन सक्नु हुन्छ । यसको निर्माण सन् २०१४ बाट सुरु गरेका थियौँ । समयमा सिद्धिन सकेन । विभिन्न कारणहरूले अप्ठ्यारा पनि थिए । स्थानीय समस्या पनि हामीले भोग्नु परेको थियो । बागमती सफाई अभियान समितिसँग सहकार्य गरेर पार्क बनाउने जिम्मेवारी दिइएको थियो। अहिले पार्कको निर्माण सम्पन्न भएर उद्घाटन पनि भैसकेको छ। अक्टोबर ११ (एनआरएन डे) पारेर शहरी विकास मन्त्रीबाट उद्घाटन गरेर ललितपुर महानगरपालिकालाई रेखदेख गरिदिनुस् भनेर अनुरोध पनि गरेका छौँ । राम्रो काम गर्नुभयो भनेर सुझाव आएको छ । शुरुका दिनदेखि नेतृत्व लिन पाउँदा म आफू पनि खुसी छ ।

पार्क बनाउन कति खर्च लाग्यो ?

सन् २०१४ को युरोपेली क्षेत्रको बैठक स्पेनमा हुँदै गर्दा सहभागीहरुबाट आधा घण्टामा १ करोड ४२ लाख रुपियाँ बराबर सहयोगको कमिटमेन्ट लिन त्यति बेला म सफल भएको थिएँ । पछिल्लो चरणमा आएर भूकम्प र डिजाइन चेञ्ज आदिका कारण झण्डै ३ करोडभन्दा बढी खर्च भएको छ । त्यो हामी सबै एनआरएनका साथीहरूले स्वेच्छाले दिएको सहयोग रकम हो। जसले सहयोग दिनुभएको छ, सबै चन्दादाताहरुको नाम पार्क भित्रै मार्बलमा लेखेर राखेका छौँ । अन्तिममा हतारहतार भएको हुँदा अझै पनि केही सहयोग आउने क्रम जारी छ। केही फण्ड नपुगेपछि सचिवालयबाट पनि खर्च गरेका छौँ । अपुग भएको रकम जुटाउन म आफै पनि लागीरहेको छु ।

गोर्खाको लाप्राकमा निर्माणाधीन नमूना वस्तीको प्रगति केकस्तो छ किन ढिला भैरहेको छ ?

नेपालमा काम गर्न त्यति सजिलो छैन । धेरै सहयोग पाएको अवस्था पनि होइन । त्यो ठाउँ अलिकति चिसो पनि छ । हिउँ पर्ने अवस्था छ । पानी परिदिने, बनाएको इट्टा र सिमेन्ट पनि खराब भइदिने, लोकेशन पनि अलि दुर्गम भएको हुनाले निर्माण संपन्न गर्न समस्या आएको छ । अलिअलि विवादका कुरा आएका छन् । स्वाभाविक पनि हो । जसले त्यहाँ दान गर्नुभयो, जसले सपोर्ट गर्नुभयो उहाँहरुले बेलाबेलामा प्रश्न उठाउनु जायज हो । त्यो उठाएन भने कतै हामी पनि सुस्त हुन सक्छौँ, ढिला हुन सक्छ । त्यसले गर्दा केही प्रश्न आएका छन् । तर पनि हामीले अहिले के कमिटमेन्ट गरेका छौँ भने छिटोभन्दा छिटो शंखमुल पार्कको निर्माण संपन्न गर्न जसरी काम ग-यौं, त्यसैगरी हाम्रो मेगा प्रोजेक्ट, लाप्राक नमुना वस्ती परियोजना, लाई पनि टार्गेट गरेर समयमै सिद्धाउँ भनेर प्रयास गरेका छौँ । केही बढी खर्च पनि भएको छ। समय पनि लागेको छ । ढिला पनि भएको छ । त्यो सबै स्वीकार गर्छौं । बाहिर बस्ने नेपालीले डे टु डे यहाँ काम गर्न नसकेको अवस्थामा ठेकेदारबाट पनि काम ढीलाढाला भैरहेको छ । त्यसलाई पनि हामीले कसरी मेकअप गर्न सक्छौँ भनेर प्रयास गरिहेको अवस्था छ । हामीलाई आशा छ वैशाखसम्ममा त्यो प्रोजेक्ट पनि सकेर हामीले हस्तान्तरण गर्ने छौँ ।

तपाई नेपाली नागरिकताको निरन्तरताका लागि खटीरहनुभएको एक अभियन्ता पनि हुनुहुन्छ । त्यससंबन्धी कानुन कहिलेसम्म बन्ला ?

गैरआवासीय नेपाली नागरिकता संबन्धी कानून छिटो बनोस् भन्ने हाम्रो चाहना हो । संसद चलिरहेको बेला १–२ महिना अगाडि पनि एनआरएन युकेको टिमसँग म आएको थिएँ । यो धेरै समयदेखि, एनआरएनएको शुरुआतका दिनदेखि जोडिएको विषय हो । हामीले  संविधानले व्यवस्था गरेअनुसारको नागरिकता माग गरेका छौँ । संविधानले दिएको अधिकारलाई सुनिश्चित गरियोस्, नेपाली नागरिक सरह सबै सुविधा उपलब्ध गराईयोस् भन्ने नै हाम्रो माग हो। राजनीतिक अधिकारकालागि पछि हामी पहल गर्दै जाउँला । संसदको हिउँदे अधिवेशनमा संशोधित विधेयकलाई पारित गरेर गैरआवासीय नेपाली नागरिकताको व्यवस्था हुने छ भन्ने हाम्रो आशा छ । नेपालको आर्थिक उन्नतिको लागि यो अत्यन्तै महत्वपूर्ण छ । चीन र भारतको इतिहास हेर्नुस् । विेदेशमा रहेका आफ्ना नागरिकलाई, डायस्पोरालाई, स्वेदश फर्काएर, उनीहरुको सीप र लगानी भित्राएर उनीहरुले देशको विकास गरेको स्थिति छ । बाहिर बस्ने नेपालीको लागि भन्दा पनि देशकै लागि अत्यन्त चाहिने भएको हुनाले पनि यसको बारेमा सोँची दिनुस भनेर हामीले अनुरोध गरिरहेका छौँ । अर्को पाटो के हो भने नागरिकताको विषय विचाराधीन हुँदै गर्दा कतै हाम्रो जग्गाजमीन, सम्पत्ती अप्ठेरोमा पर्ने हो कि भनेर साथीहरु डराइ रहनु भएको छ । हामीले भनिरहेका छौँ बाहिरको पासपोर्ट लिनुभन्दा अगाडिको सम्पत्तीमा केही फरक पर्दैन भनेर, हामीहरू अन्तर्राष्ट्रिय कानूनको आधारमा टेकेर, बोलिरहेका छौँ । तर के भयो भने यो कुराहरू जबसम्म देशको राजनीतिक र सरकारी तहबाट बोलिंदैन तबसम्म हामीले बोलेर मात्रै हुँदैन । अहिले हेर्नु भयो भने समग्र नेपालका यति धेरै घरजग्गा जमीन बेचेर ठूलै रकम बाहिर लिएर जाने क्रम बढेको छ । कानूनी रुपमा पैसा लिएर जान मिल्दैन । गैरकानूनी रुपमा यति धेरै पैसा बाहिरिएको छ, त्यसले देशलाई खोक्रो बनाउने अवस्था रहेको छ । त्यो कारणले पनि तपाईहरूको सम्पत्ती सुरक्षित छ । तपाईहरूलाई हामीले गैर आवासीय नागरिकता दिन्छौँ जसले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको सुनिश्चितता हुन्छ, तपाईहरू आत्तिएर सम्पत्ति नबेच्नुस् भनेर सरकारले बोलिदियो भने यो देशको धनसम्पत्ति बाहिर जाँदैन । र, त्यो नागरिकताले संसारभरि रहेका नेपालीका पहिलो पुस्ता नभइकन दोस्रो, तेस्रो पुस्तालाई पनि नेपालसँग जोड्न सफल हुनेछौं। नेपालको आर्थिक उन्नति र प्रगतिकालागि नेपाली डायस्पोरालाई नेपालसंग जोड्न अत्यन्त जरुरी छ । यसको मूल कडी भनेको नै नागरिकता हो भन्ने मलाई लाग्छ ।

त्यो कानून कस्तो हुनुपर्छ यसबारे गैरआवासीय नेपालीहरुको भनाइ के छ ?

नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेपछि हामीले भनेका छौँ यो सामाजिक, आर्थिक र सांकृतिक अधिकार बाहिर बस्ने नेपाल र भित्र बस्ने नेपालीको समान होस् भन्दाखेरी धेरै प्रभावशाली व्यक्तिहरू, सरकारका अधिकारीहरुले त्यसमा कुनै समस्या छैन भनेर भन्नुभएको छ। प्रधानमन्त्रीले पनि बोल्नु भएको छ । आशा गरौँ त्यही अनुसारको कानून बन्नेछ । संसार भरि रहेका नेपालीहरू छिटोभन्दा छिटो लाभान्वित हुने छन् । त्यसपछि नेपाल फर्कने क्रम बढ्ने आशा पनि हामीले लिएका छौँ ।

एनआरएनले लगानीसँगै सीप र प्रविधि पनि भित्र्याउने भनेको थियो । यसबारे तपाईहरूको रणनीति के छ ?

अहिलेको विज्ञ सम्मेलन भनेकै यही नै हो । सीप र प्रविधि अर्थात ज्ञान जे भनौँ यो रणनीति भनेको पहिलो चरणमा हामीले शुरु गरेका छौँ । पुँजीको रुपमा सामूहिक , व्यक्तिगत वा  सामाजिक हिसाबकितावले पहिलो पुस्ताले प्रयास गरेको कुरा हो । नेपालको कायापलट हुने गरेर एनआरएनएले यसो ग-यो उसो ग-यो भनेर म कहिल्यै पनि ठूला कुरा गर्न चाहन्नँ । एउटा स्कुल बनाउने होस्, स्वास्थ्य चौकी  बनाउने होस् अथवा बाटोघाटो बनाउने नै किन नहोस् । यसबाहेक ठूला लगानीका कुराहरू पनि नभएका हैनन् । एक हजार जना लगानीकर्ताहरुको एउटै कंपनी बनाएर त्यसले पनि केही कार्यहरू अगाडि बढेको अवस्था छ ।यो ज्ञान र सीपको जुन कुरा गरिएको छ यसैलाई मध्यनजर गरेर विज्ञ सम्मेलन भनेर हामीले गरेका हौँ । त्यो ज्ञान र सीप भनेको पीएचडी गर्ने डाक्टरहरूले मात्रै ल्याउने होइन । सामान्य खाना पकाउने मान्छेले पनि हाइजेनिक खाना कसरी पकाउन सकिन्छ भन्ने कुरा देखि सामान्य खेती गर्ने मान्छेले नेपाल कृषि प्रधानदेश हो, कसरी कृषिमा राम्रोसँग उन्नति गर्न सकिन्छ भन्ने कुरा पनि लिएर आओस् भन्ने हाम्रो चाहना हो। यस्ता उदाहरण प्रशस्त रहेका छन् । यी विषयहरूमा पनि केन्द्रित रहेर छलफल भएको छ । यो नै हाम्रो रणनीति हो र शुरुवात पनि हो ।

अन्त्यमातपाईलाई आउँदो वर्ष एनआरएनको विश्व सम्मेलनमा अध्यक्षको दावेदारको रुपमा पनि हेरिएको छ । के अध्यक्षको दौड शुरु भैसकेको हो ?

दौड सुरु भएको छैन मेरो आफ्नो भाषामा । उपाध्यक्षलाई अध्यक्षको उम्मेदवार हो भन्नु स्वाभाविक नै हो । म अहिले के भन्छु भने हामीले केही गर्नुपर्छ । काम गरेर अगाडि बढ्नुपर्छ । चुनाव भनेको प्रक्रिया मात्रै हो । चुनाव भन्दैमा हारजीत भन्ने हुँदैन भन्ने मान्यता पनि म राख्छु । भोलिको परिस्थिति र संसारभरिका गैरआवासीय नेपाली मित्रहरूले तपाईंले नेतृत्व गर्नुस् भन्नुभयो भने म तयार पनि हुनुपर्छ । होइन भनेर भन्नु भयो भने त्यो समयले बताउँछ । अहिले म कुनै दौडधुपमा लागेको छैन । तर मेरो दौडधुप भनेको हामीले केही काम गर्नुपर्छ नेपालमा,  हाम्रा परियोजनाहरू समयमै संपन्न गर्नुपर्छ, देखिने काम गर्नुपर्छ भन्ने नै हो ।

प्रतिक्रिया
सम्बन्धित