विराटनगनर, ७ कात्तिक । विराटनगर महानगरपालिकाका वडाध्यक्षहरूले दशैंको उपहार मोटरसाइकल पाएका छन् ।
निर्वाचित भएको झण्डै डेढ वर्षपछि महानगरका वडाध्यक्षहरूले मोटरसाइकल सुविधा लिएका हुन् । जनप्रतिनिधिहरूले सुविधा लिएको भनेर आलोचना भइरहेका बेला वडाध्यक्षहरूलाई मोटरसाइकल वितरण गरिएको छ ।
महानगरपालिकाको १९ वडामध्ये १८ वडाका अध्यक्षलाई मोटरसाइकल उपहार महानगरपालिकाका मेयर भीम पराजुलीले दिएका छन् । वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले भने मोटरसाइकल लिएका छैनन् । आफ्नै मोटरसाइकल भएकाले न्यौपानेले मोटरसाइकल सुविधा नलिएका हुन् ।
मेयर भीम पराजुलीले कार्यालय प्रयोजनका लागि वडा कार्यालयहरूलाई मोटरसाइकल वितरण गरिएको बताए । आफूले कुनै सुविधा नलिएको बताउँदै उनले वडाका काम छिटो गर्नका लागि मोटरसाइकल प्रदान गरिएको उल्लेख गरे ।
महानगरपालिकाले खरिद गरेको मोटरसाइकल २ लाख ८ हजार रुपैयाँदेखि २ लाख ९० हजार रुपैयाँसम्मका छन् । महानगरका प्रवक्ता राजेन्द्र प्रधानले २ लाख ८ हजार रुपैयाँका होण्डा र २ लाख ९० हजार रुपैयाँका बजाज एभेञ्जर बाइक खरिद गरी वितरण गरिएको बताए ।












प्रतिक्रिया