बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

यी भीभीआइपीले चन्दा र दानबाट बनेको भवनमा आँखा लगाएपछि…

दैनिक नेपाल २०७५ कार्तिक ६ गते ७:२१

काठमाडौं, ६ कात्तिक । २१ भदौको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपतिको कार्यालय बहादुर भवनबाट समाजकल्याण परिषद्को भवन लैनचौरमा सार्ने निर्णय भएको थियो । २८ भदौमा उपराष्ट्रपति नन्दबहादुर पुनले परिषद्को भवनको स्थलगत निरीक्षणसमेत गरिसकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सर्वसाधारणको चन्दा तथा दान सहयोगबाट उठेको तीन करोड ४५ लाख रुपैयाँमा २०३४ मा बनेको यो भवन उपराष्ट्रपतिको कार्यालयका लागि प्रयोग गर्न दिन नहुने भन्दै कर्मचारी आन्दोलित छन् । सरकारको निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने परिषद्का पदाधिकारी तथा कर्मचारीको अडान छ ।

पाँच रोपनी क्षेत्रफलमा भवन तथा २३ रोपनी खाली जग्गा गरी परिषद्को २८ रोपनी जग्गा रहेको परिषद्का उपाध्यक्ष निलमणि बरालले बताए । ‘सरकारको निर्णय कार्यान्वयन नगर्न राजनीतिक दलका नेताहरूसँग हामीले छलफल गरेका छौँ । यो ऐतिहासिक थलो भएकाले उपराष्ट्रपतिको कार्यालय अन्य ठाउँमा राखौँ भनेर आग्रह गरेका छौँ । कर्मचारीले कालोपट्टी बाँधेर काम गर्नेदेखि कालोझन्डा देखाएर आन्दोलन गरिरहेका छन्,’ उपाध्यक्ष बरालले भने ।

उपराष्ट्रपतिको कार्यालय परिषद्मा राख्न पछिल्लो समय दबाब नआएको परिषद्का उपाध्यक्ष बरालले बताए । ‘नजिकै १९ तले होटेल बन्दै छ । भवनछेउमा रानी ऐश्वर्याको सालिक छ । यस्तो ठाउँमा उपराष्ट्रपतिको कार्यालय तथा निवास उपयुक्त नहुने भनेर हामीले सुझाब दिएका छौँ,’ उनले भने ।

भूकम्पले उपराष्ट्रपतिको कार्यालय तथा निवास रहेको बहादुर भवनमा क्षति पुगेको छ । त्यसलाई मर्मत गरेर बस्नुको सट्टा उपराष्ट्रपतिको कार्यालयले नयाँ ठाउँ उपलब्ध गराउन सरकारलाई विगतदेखि आग्रह गर्दै आएको थियो ।

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा तथा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई सम्मिलित समिति बनाएर उपराष्ट्रपतिको कार्यालय रहने उपयुक्त क्षेत्र पहिचान गर्न निर्देशन दिएको थियो । सो समितिले समाजकल्याण परिषद्को भवन उपयुक्त हुने ठहर गरेको हो।

प्रतिक्रिया
सम्बन्धित