११ कार्तिक २०८३, बुधबार

दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छापिने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ ।

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए ।

‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’

विभाग आफैले पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसको प्राविधिक सहयोगमा विभागले कार्ड छपाइ गर्दै आएको थियो । विभागले गरिरहेको प्रिन्टिङ पनि चालू नै रहने प्रवक्ता उपाध्यायले बताए ।

‘सन् २०१७ को नोभेम्बर र डिसेम्बरको केही कार्ड छपाइ गर्न बाँकी छ, केही कार्डमा त्रुटि देखिएका छन्,’ उनले भने, ‘त्यो छपाइको काम विभाग आफैले गर्ने छ ।’ जनवरीदेखि अक्टोबरसम्मको कार्डको छपाइ मात्रै मालिकाले गर्ने छ । त्यसपछि पुनः विभागले नै कार्ड छपाइ गर्ने उपाध्यायले बताए ।

विभागले १० लाख लाइसेन्सलाई तत्काल स्मार्ट कार्डमा बदल्नुपर्नेछ । यसमध्ये झन्डै चार लाख कार्ड वितरण भएका छन् । तर, वितरण भएका कार्डमा समेत समस्या देखिएपछि पुनः प्रिन्ट गर्नुपर्ने भएको छ ।

उपाध्यायका अनुसार, कार्ड छपाइका लागि मालिकाले २० वटा प्रिन्टिङ मेसिन ल्याएको छ । प्रत्येक मेसिनले दैनिक एक हजारभन्दा बढी कार्ड छाप्न सक्ने उनले बताए । हाल विभागले दैनिक २ हजार ५ सय कार्ड छपाइ गरिरहेको जनाएको छ ।