११ कार्तिक २०८३, बुधबार

सांसद बन्न नपाएका वामदेवले पहिलो पटक दिए औपचारिक प्रतिक्रिया

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन काठमाडौं–७ का सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति नेकपा सचिवालयले अस्वीकार गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सांसद मानन्धरले राजीनामाका लागि मागेको अनुमति अस्वीकार गरेको हो ।

‘रामवीर मानन्धरले राजीनामा दिनका लागि पार्टीलाई लेखेको पत्रबारे अहिले निर्णय गर्नुपर्ने जरुरी नभएको निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बाँकी एजेन्डामा सोमबार व्यवस्थित छलफल हुनेछ ।’

गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन सांसद मानन्धरले गत २२ असोजमा बसेको सचिवालय बैठकमा राजीनामा दिन अनुमति माग्दै लिखित निवेदन दिएका थिए ।

तर, नेता ईश्वर पोखरेलको विरोधपछि अर्को बैठकमा छलफल गर्ने भन्दै स्थगित भएको थियो ।

गौतमले उम्मेदवारी दिनेबारे पार्टीपंक्ति र बाहिर विरोध बढ्दै गएपछि सचिवालय बैठक दुईपटक स्थगित भएको थियो । परिस्थिति अनुकूल नबनेपछि २७ असोजमा गौतमले ‘ब्याक’ भएको पार्टी नेताहरूलाई जानकारी गराएका थिए।

नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा सचिवालयमा राखेका थिए ।

आफू र पार्टीले संस्थागत धारणा नबनाउँदै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नेताहरूबाटै कुप्रचार गरिएको भन्दै उनले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पु-याउने काम गरेको धारणा राखेको एक सचिवालय सदस्यले बताए ।

‘वामदेव कमरेडको उम्मेदवारी तयारी र उपचुनावको चर्चाका सन्दर्भमा पार्टीभित्र उत्पन्न असमझदारीबारे खुलस्त छलफल भयो, उहाँले धेरै लामो पृष्ठभूमिसहित तीता–मीठा सबै कुरा राख्नुभो,’ ती सचिवालय सदस्यले भने, ‘अब त्यसबारे कुनै गुनासो नहुने गरी अहिलेलाई कुनै निर्णय नगर्ने अन्तिम निर्णय भयो ।’