११ कार्तिक २०८३, बुधबार

३८ क्वीन्टल सुन तस्करी प्रकरण : मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाईलाई पनि पक्राउ गर्ने तयारी

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ ।

श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ पत्रिकामा समाचार छ ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे ।

रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो । दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो ।

त्यस्तै, सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेति ‘गोरे’ का भाई रमेश उप्रेतिलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेति पनि दुबईमा पक्राउ परिसकेका छन् ।

उता, सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो ।