बैतडी, २७ असोज । बैतडी जिल्लामा सेवाग्राहीलाई अपमान गरेर काम नगरिदिने एकजना लेखापाललाई स्थानीयले चालामा चट्काइदिएका छन् ।
सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टलाई शुक्रवार सेवाग्राहीले अति भएपछि हातपात गरेका हुन् । स्थानीय भरत मडै र नरेश मडैले हातपात गरेको लेखापाल भट्टले बताएका छन् ।
गाउँपालिकाका लेखापालमाथि हातपात भएको पुष्टि गर्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले दोषीमाथि कारवाही हुने चेतावनी दिए ।
यता कुटपीट गरेको आरोप लागेका पक्षले भने सो कुरा अस्वीकार गरेका छन् । कुटपिटको आरोप लागेका नरेश मडैले आफूहरूले कसैलाई कुटपिट नगरेको बताए । लेखापाल भट्टसँग समान्य विवाद भएको बताए । उनले भने, ‘केही कुराको सूचना माग्दा लेखापालले अटेरी गर्दा सामान्य विवाद भएको कुरालाई उचालेर ठूलो बनाएको छ ।’
स्थानीयको कुटाइ खाएपछि सुर्नया गाउँपालिकामा कार्यरत कर्मचारीहरूले शान्ति सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काम नगर्ने चेतावनी दिएका छन् । उनीहरूले गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टलाई ज्ञापन पत्र बुझाएका छन् ।












प्रतिक्रिया