बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

बैंकर अजय मिश्र :  जसको जीवनमा ‘असन्तुष्टि’लाई मौका छैन

विनोद ढकाल २०७५ भदौ ३१ गते ११:१८

-विनोद ढकाल/दैनिक नेपाल
काठमाडौं, ३१ भदौ । सन् १९३३ देखि १९४५ सम्मकी प्रथम महिला तथा अमेरिकन राजनीतिज्ञ इलिनर रुसभेलले भनेकी छन्– खुशी, प्राप्तिको चिज होइन, राम्रो जीवन बाँच्ने उपक्रमको उत्पादन हो । उनको यो भनाईसँगको पारस्परिक जीवन बाँचिरहेका छन्, अजय मिश्र । मिश्रका परिचय अनेकतासँग जोडिएका छन् । ठ्याक्कै यसैबेला उनको परिचयको आधार हो– जनता बैंकका उप प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) ।

उनको परिचयको आधार कुन बेला फेरिने हो, उनैलाई थाहा छैन । यसको कारण– हतारको निर्णय हो । यही बानीले उनलाई विचारमा सबल र निर्णयमा सफल बनाएको ठान्छन् ।

आत्मविश्वास, इमान्दारिता र निष्ठा, अनुशासनलाई ध्यानमा राख्छन् उनी । रामानन्द मिश्रका छोरा भएका कारणले उनलाई यी तीन विषयमा गम्भिर हुने मौका मिल्यो

जीवनमा व्यावसायीक यात्राको थालनी गर्दादेखिको यही आनीबानी उनका प्रेरक पनि बनिरहेका छन् । सन् १९९० मा २१ बर्ष ५ महिनाको उमेरमा नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिक परिषद्मा लेखा अधिकृतको जागिरमा पुगे, त्यसको एक बर्ष नबिति छाडिदिए । ‘जहाँ म रमाउन सक्तिन, त्यहाँ बस्नुको औचित्य ठान्दिन, निरन्तरता दिएको भए सायद नेपाल सरकारको सचिव भइसक्थें होला !’, सम्भावना कोट्याउँदै उनी दैनिक नेपालसँग खुल्छन्,‘मैले जहाँ जहाँ कामलाई बोझ होइन, रमाउने आधार बनाएँ त्यसले कहिल्यै असन्तुष्टि व्यक्त गर्ने ठाउँ दिएनन् ।’

मिश्र १९९९ देखि तीन बर्ष नेपाल टेलिभजनका जागिरे थिए । उनकै पालामा टेलिभिजनले सोचेको भन्दा राम्रो मुनाफा गरेको थियो र कर्मचारीले पहिलो पटक बोनस समेत पाए । ‘मलाई अहिले पनि त्यहाँ सम्झिनुको कारण त्यहि हो’, उनी भन्छन्,‘व्यापार महाशाखाको प्रमुखका रूपमा पनि काम गरेको थिएँ ।’

एभीन्युज टेलिभिजनसम्म आइपुगेपछि मिश्रले बैंकिङ क्षेत्रलाई रोजे । माछापुच्छ«े बैंकबाट उनको फरक यात्रा तय भयो । सिद्धार्थ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसम्म आइपुगेपछि मर्जर प्रक्रियामा जाँदा उनी जनता बैंकका उप कार्यकारी प्रमुख भएका हुन् ।

देशविदेश घुम्न रुचाउने मिश्र बर्षमा दुईदेखि तीन पटक बाहिर निस्कन्छन् । कहिलेकाहीँ एक्लै घुम्छन्, कहिले साथीहरूसँग र कहिले परिवारसँग घुम्न निस्कन्छन् ।

आत्मविश्वास, इमान्दारिता र निष्ठा, अनुशासनलाई ध्यानमा राख्छन् उनी । रामानन्द मिश्रका छोरा भएका कारणले उनलाई यी तीन विषयमा गम्भिर हुने मौका मिल्यो । बाबु रामानन्दले ३३ बर्ष शिक्षा मन्त्रालयका अब्बल अधिकारीका रूपमा काम गरेका थिए । ‘बुवाले सिकाउनुभएको पारिवारिक सीमा, अध्ययनको महत्वका कारणले केही विषयमा मलाई पनि अनुशासित बनाएको छ । यस्तै मेरा छोराछोरी पनि अध्ययनका विषयमा अनुशासित बनेका छन् ।’

मिश्र, मिश्रित परिवारका उत्तोलक पनि हुन् । बाबुले तयार पारेको पारिवारिक मेलको कसीमा उनिएका छन् । यही कसी उनको ताकत पनि हो

रामानन्द आफैं पनि आफ्ना पालामा अध्ययनका लागि विभिन्न देश पुगेका थिए । अब्बल भएरै फर्किएपछि उनले शिक्षा मन्त्रालयमा जागिर पाएका थिए । ३३ बर्ष शिक्षा मन्त्रालय, ३२ बर्ष विभिन्न प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयमा पनि सक्रिय रहेका रमानन्दको कामप्रतिको गम्भिरताले उनलाई पनि त्यहि लयमा हिँड्न सिकायो । फरक यत्ति हो– बाबुले शिक्षाको निरन्तरता दिए, उनले अनेक ठाउँको अनुभव सँगाले ।

मिश्र, मिश्रित परिवारका उत्तोलक पनि हुन् । बाबुले तयार पारेको पारिवारिक मेलको कसीमा उनिएका छन् । यही कसी उनको ताकत पनि हो । भन्छन्,‘हामी परिवारका सबै सदस्य भेला हुँदा ५१ जना पुग्छौं । अंशवन्डा गरिएको छैन । गर्न आवश्यक ठानेका छैनौं ।’

कानुनी आधारलाई मान्ने हो भने त मिश्रको परिवार एउटा जन्ती जत्तिकै संख्यामा छ । हो, त्यहि जन्तीको मुखिया अथवा अगुवा बुवा रामानन्द हुन् । अगुवाले परिवारको मिलन, त्यसको महत्व बुझाएका कारणले नै हामी संयुक्त छौं, भिन्नता छैन । सबैका अभिभावक बुवा हुनुहुन्छ ।

राजा सुरेन्द्र शाहका पालामा सुव्वा रहेका दामोदरप्रसाद मिश्रपछिका पाँचौ पुस्तामा छन्, अजय । त्यसबेला राजाले रौतहट र सर्लाहीमा दिएको विर्तामा बीचका तीन पुस्ता रमाए । कसैले मिहेनतको काम गरेनन् । तर, जब रामानन्दले अध्ययनसहित सेवाको बाटो समाते अबको पुस्ताले यहि क्रमलाई जारी राखेको छ । अजयपछिको पुस्ताले पनि । छोरो अमेरिकामा अब्बल अध्ययनमा छन्, छोरी काठमाडौं विश्वविद्यालयमा टप थ्रीमा पर्छिन् ।

म सन्तुष्ट भएर काम गर्छु । कामले आनन्द दिन सक्नुपर्छ । जुन काम थालिन्छ, त्यहि काममा रमाउने शैलीको ढाँचामा ढल्न सक्छु । जुन सक्दिन, चटक्कै छाड्छु

जसले परिवारलाई बाँच्ने, रमाउने, अनुशासनमा बस्ने, अध्ययनमा अब्बल हुने शैली सिकाए । यहि निरन्तरताको गतिमा हिँड्दाहिँड्दै उनी सरकारी जागिरे, अन्तर्राष्ट्रिय संघसंस्थाका विभिन्न ठाउँका प्रमुख, संयुक्त राष्ट्र संघको विकासे परियोजनाका कामकाजी, टेलिभिजनका अब्बल व्यवस्थापक हुँदै कुशल बैंकरका रूपमा अहिले परिचित छन् ।

यति धेरै संघ संस्थाको संरचनासँग घुलिन रहेका अजय सबै क्षेत्रमा उत्तिकै सफल हुनुको रहस्य हो– असन्तुष्टिलाई अवसर छैन । ‘म सन्तुष्ट भएर काम गर्छु । कामले आनन्द दिन सक्नुपर्छ । जुन काम थालिन्छ, त्यहि काममा रमाउने शैलीको ढाँचामा ढल्न सक्छु । जुन सक्दिन, चटक्कै छाड्छु’, सरकारी जागिर छाडेको पुनश्च सम्झिए ।

अजय सामाजिक, आर्थिक चिन्तनका विषयमा एउटा ‘इन्साइक्लोपेडिया’ नै हुन् । संस्कारका विषयमा उनका बुवा हुन् । कुराको मेलो टुंगा लगाउनुपूर्व दैनिक नेपालले सोध्यो–आर्थिक क्षेत्रको अवस्था सुधारमा बैंकको भुमिका के छ ?

मिश्रको सहज जवाफ छ– नीजि बैंक सहर विस्तारका मुख्य साधक हुन् । अथ्र्याए,‘नीजि बैंक खुलेपछि लगानीको दायरा बढ्यो । चाहे जे क्षेत्रमा होस्, विकेन्द्रीकरण गरी लगानी थालेपछि सहर विस्तारै विस्तार हुन थाल्यो । आज नीजि क्षेत्रका बैंकहरू सफल हुनुका कारण पनि उनको मिहेनत र लगानी नै थियो, अझै पनि हो ।’

प्रतिक्रिया
सम्बन्धित