शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

मन्त्री र सांसदहरुले सरकारको बचाउ नगर्नुको कारण के हो ?

सिद्धिचरण भट्टराई २०७५ भदौ २८ गते १४:२४

-सिद्धिचरण भट्टराई

मार्क्स र एंगेल्सले आजभन्दा १७० बर्ष अघि कम्युनिष्ट पार्टीको घोषणा पत्रको पहिलो अनुच्छेदमै युरोपलाई एउटा भुतले तर्साइरहेको बताएका थिए, त्यो थियो ‘कम्युनिष्टको भुत’ । आज १७ दशक पछि नेपालमा प्रचण्ड बहुमतका साथ कम्युनिष्टहरु नै ३ तहकै सरकारमा छन । तर यहीँ ‘एकधारका कम्युनिष्टहरु’ र सरकारका अन्ध समर्थकहरुलाई भने आफ्नै मार्गदर्शक ‘कार्ल मार्क्सको भुत’ले नराम्रो गरी तर्साई रहेको छ, किन ?

कार्लमार्क्स वैज्ञानिक समाजवादका प्रस्तावक र एक्काईंशौ शताब्दीका युग पुरुष दार्शनिक । उनी जन्मेको १८१८ देखि आज २०१८ सम्म दुईसय बर्षपछि पनि उनका कालजयी विचारहरुले बिश्व हल्लाई रहेका छन् । यस अवसरमा कार्ल मार्क्स जन्म द्धिशतबार्षिकी कार्यक्रम देशभर आयोजना भइरहेका छन । काठमाडौं, बिरगञ्ज, नेपालगञ्जमा राष्ट्रिय र प्रादेशिक तहमा भैसकेपछि रुपन्देहीमा पनि यसलाई आज मार्क्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद शिर्षकमा जिल्लास्तरीय कार्यक्रमको रुपमा राखियो । मानिसहरुको कार्यक्रम प्रतिको आकर्षण अभुतपुर्व रह्यो ।

यसको चर्चा पनि बामपन्थी र गैरवामपन्थी सबै क्षेत्रमा फैलिएको छ । चर्चाको केन्द्रमा छन्, नेपालमा नवगठित कम्युनिष्ट पार्टी नेकपा र मार्क्सवाद । हाल नेपालमा दुई तिहाई बहुमतको बामपन्थी सरकार छ । स्थानिय, प्रदेश र संघिय सरकारमा दुई तिहाई बहुमत बिश्व इतिहासमै अभुतपुर्व हो । तर, यहीबेला सरकार जसरी लोकप्रिय भएर निर्वाचित भयो त्यति नै अलोकप्रियताको भिरालोमा दौडिरहेको छ ।

केन्द्रिय कमिटीमात्र गठन गरेर अगाडि बढन नसकेको दुई पार्टीको एकता भित्र कस्तो शैली र कारबाही अंगिकार गरिएको छ भन्ने कुराले आगामी सत्ता कसरी अगाडि बढ्छ भन्ने देखाउँछ । यही बेलामा ‘मार्क्सवाद र आजका कार्यभार, नेपालको राजनीति’, ‘समाजवादी कार्यदिशा’ र ‘मार्क्सको जीवनी र हाम्रो जीवनशैली’ बिषयमा घनश्याम भुसाल, राम कार्की र डा. बिजय पौडेलले सविस्तार व्याख्यान दिनु भएको उक्त कार्यक्रममा करिब १२ सय जना जिल्लाभरका कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रम सम्पन्न भएको भोलीपल्ट अखबारहरुले लेखे एउटा पक्षको चरम असहयोगका बीच मार्क्सवादी विचार गोष्ठी भव्य रुपमा सम्पन्न । आखिर पत्रिकाले यस्तो भन्नुपर्ने परिस्थिति किन आइपर्यो ? यही तर्साइलाई मैले माथि संकेत गरेको हुँ ।

गलत राजनीतिक संष्कार :

कार्यक्रमको पुर्व सन्ध्यामा सबैलाई कार्यक्रममा आमन्त्रण गर्दै गर्दा तल तल कार्यकर्तालाई कार्यक्रममा आउन रोक्ने, गलत अफबाह फैलाउने र कार्यक्रममा नजान निर्देशन गर्ने काम भयो । यो निकै दुखःद कुरा हो । हिजो महाधिवेशनमा भएको प्यानलगत आग्रह राख्न कदापि उचित हुँदैन जसरी अब आगामी दिनमा एमाले र माओवादी भनेर धार राखिरहन जरुरी हुँदैन । यो कुरा केही कमरेडहरुले फेसबुक स्टाटसमै लेखेको हुनाले सतहमा आयो, जुन वैचारिक राजनीतिक संष्कारको हिसावले राम्रो होइन । पार्टी अध्यक्ष, स्थानिय कमिटीसम्म यो आग्रहले व्यवहार गरिँदा नेकपा एकिकरण कार्य समेत प्रभावित बनिरहेको छ । यसले जीवन्त एकता भन्दा प्राविधिक एकताको मात्र कुरा अगाडि बढाउन खोजिएको देखिन्छ ।

एमाले, माओवादी, मसाल र नेकपा संयुक्तका दोश्रो पुस्ताका नेताको अगुवाईमा भएको यो कार्यक्रम धेरै चरणमा अघि बढिसकेको छ । १८ देखि ३० बर्षका १० हजार युवालाई मार्क्सवाद सिकाउने उद्देश्य घोषणा गरेर अघि बढेको गोष्ठी प्रभात फेरी मात्र भएको भुसालले बताएका छन् । मार्क्सवादी विचारधारात्मक शक्तिहरु बीचमा रहेका समानता र भिन्नताबारेका विमर्शले स्वाभाविक रुपमा वाम ध्रुविकरणलाई बलियो बनाउने अवस्था हुन्थ्यो । र, सिद्धान्तमा आधारित पार्टी निर्माण र मुद्धाहरु बन्ने र समाधान हुने कुराले यो बिषयमा घनिभुत प्रवेश पाउने सम्भावना रहन्छ । यसका सकारात्मक प्रभाव देखिनै लाग्दा भएका स्थानिय र प्रदेश, संघका चुनावले ध्रुविकरणलाई सहज वातावरण बनाई दिए ।

घनश्यामकै गृहनगरमा हुने कार्यक्रमलाई असफल पार्न संस्थापन निकट केही जिल्ला कमिटी सदस्यहरुले कार्यक्रमका बिरुद्ध फेसबुकमा स्टाटस लेखेर अर्नगल प्रचार गरे । तलका कार्यकर्तालाई फोन गरेर सहभागिता नजनाउन निर्देशन गरियो । यसको वावजुद कार्लमार्क्स जन्मद्धिसतबार्षिकी आयोजक–संयोजकले सबै क्षेत्रिय संयोजकमार्फत तल्ला कमिटी तहसम्म कार्यक्रममा सहभागिता जनाउन सूचना गर्न अनुरोध गरेका थिए । यो कुनै गुटगत भेला थिएन, पार्टीमा क्रियाशिल एउटा विचार समुहको कार्यक्रम पनि होइन, बिशुद्ध वैचारिक कार्यक्रम थियो तर प्रचार त्यस्तो गरियो । यसले गर्दा पत्रिकाहरुले त्यसरी लेख्न बाध्य भए । कार्यक्रममा पूर्वमाओवादी, पुर्व एमाले र मसालका कार्यकर्ताहरु आयोजकको रुपमा सक्रिय रहँदै आएका छन । पहिले ४ र हाल २ पार्टीको सहकार्य रहेको यो संयोजनकारी भुमिका रहने कार्यक्रममा कमिटीगत निर्देशन र निर्णय हुने कुरा भएन । यस्ता वैचारिक छलफल गर्न पार्टीका आन्तरिक महाधिवेशन कुर्नुपर्ने पनि कुनै कारण छैन । तर पनि घनश्याम, राम कार्की र ठाकुरै गैरे जस्ता नेताहरुले नेतृत्व गरेको पार्टीका शिर्ष नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, मोहनविक्रम सिंह, बामदेव गौतमले समेत निरन्तर साथ दिएको यो कार्यक्रमलाई गुटगत आँखाले हेर्ने कुरा गलत हो । जबकि मार्क्सवाद र समाजवादका बारेमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी समेत बहसमा सहभागि हुँदै आएका छन् ।

सही विचार कसरी पैदा हुन्छ? ः

पूर्वीय दार्शनिक चाणक्यले समेत गलत काममा लागेकालाई शास्त्रले बाटो देखाउँछ । सहि विचार बोक्ने मित्रहरुको भेलाले सही विचार बोक्नेलाई बल प्रदान गर्दछ भनेका छन् । यद्यपी धर्मशास्त्र धेरैपटक पढेपनि ‘आत्म’ नचिन्नेहरु मार्क्सवाद जतिपटक पढेपनि ‘क्रान्ति’ नचिन्नेहरु उस्तै उस्तै हुन । हामी समाजवादी क्रान्तिकारी हौं । क्रान्तिकारीको विचार सही हुनु पर्दछ । उक्त ‘सहि विचार कहाँबाट आउँछ ?”
माओले १९६३ मा दिएको मन्तव्यमा भनेका छन्: ‘सहि विचार कहाँबाट आउँछ ? के आकाशबाट फुत्त झर्छ ? के हाम्रो दिमागबाट आपसेआप फुर्छ ? यस्तो पनि हैन ।

सहि विचार त सामाजिक व्यवहारबाट पैदा हुन्छ । सहि विचार ३ प्रकारका ‘सामाजिक संघर्ष’बाट पैदा हुन्छ – उत्पादन संघर्ष, बर्ग संघर्ष र वैज्ञानिक प्रयोग ।’ यी सबै कुराको निचोडमा पुग्न द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त आवश्यक पर्छ । माक्र्सले भनेजस्तै संसारको व्याख्या गर्नुमात्र ठूलो कुरो होइन्, मुख्य कुरा यसलाई बदल्नु हो । ज्ञानवाट व्यवहार तर्फ र व्यवहारबाट पुनः ज्ञानतर्फ फर्कने प्रक्रिया पटक पटक दोहोरिएपछि ज्ञान प्राप्त हुन्छ ।

यही कुरालाई पुन स्मरण गर्दै कार्लमार्क्सबाट सिक्न र नेपालको अर्थराजनीतिक व्यवस्थाका अन्तरबिरोध हल गर्दै समृद्ध समाजवाद निर्माण गर्न हामीलाई ‘सही विचार’ र ‘सहि कार्यदिशा’को खाँचो पर्छ । यसका लागि वैचारिक अन्तरक्रियाको खुलस्त वातावरण बन्नु आवश्यक छ । यसले अलमलिएको ओली सरकारलाई मार्गदर्शन सघाउ पुग्नेछ । यसर्थ सामाजिक संघर्षमा सहभागि हुँदै अगाडि बढ्नु र अध्ययन अनुसन्धानलाई निरन्तरता दिनु आजको ज्वलन्त आवश्यकता हो ।

आशलाग्दा प्रम र निराश कर्म :

अहिले दुईतिहाईको दम्भले ‘पार्टी र क्रान्ति’ दुवै सकिन्छ कि भन्ने भय पैदा भएको छ । दम्भ मनोेगत व्यवहार हो बस्तुगत होइन । यसबाट जोगाउन कसैले सक्दैन स्वयम् जाग्नु बाहेक ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालगञ्जको कार्यक्रम र काठमाडौंको कार्यक्रममा दोहोर्याएर भनेका थिए । दुई तिहाईको बाम सरकार असफल भयो नेपालमा कम्युनिष्ट आन्दोलन सकिन्छ त्यसैले यो सरकार कुनै हालतमा सफल हुनु पर्छ । तर कसरी ? यही व्यवहार र यही शैलीले हाम्रा र जनताका यी अपेक्षा पुरा होलान ?

गोविन्द केसीले सार्वजनिक मेडिकल शिक्षालाई सुलभ बनाउने आन्दोलन गर्दा बामसरकार नै बिरोधी भएर देखा पर्यो । बिना तर्क लुत्रुक्क उनै संग निशर्त माग पूरा गरियो, कुन मुल्यमा बिरोध र कुनै मुल्यमा निशर्त माग पूरा ? आफैले हटाएको दुरसञ्चारको अध्यक्षमा पुनः दिगम्बर झा ल्याइयो ? किन हटाईयो किन ल्याइयो ? जनता आशावादी भएका छैनन । दिनहुँ निराश बन्दैछन् । आशलाग्दा नेता ओली अहिले हास्यपात्र बन्ने खतरा छ । मन्त्री छन, स्थानिय सरकार छ, सांसद छन तर सरकारको तथ्यपूर्ण बचाउ गर्न असमर्थ छन किन् ? पार्टी छ, नेता छन् तर सरकारलाई १०० जनाको जुलुस लिएर समर्थन गर्ने वातावरण किन छैन ? शुरुवाती कदमहरु पानीका फोका झै हराए, यातायात सिन्डीकेट र काम नगर्ने ठेकेदारमाथि कारबाही, कामचोर कर्मचारीको निलम्बन यी सबैले हावा खाए । किन ? यसको बस्तुनिष्ट कारण खोजिनु पर्छ । समस्या छ कहाँ ? हाम्रो अठोटमा कि कर्मचारीतन्त्रमा ? हाम्रा कार्यशैलीमा कि कार्यपद्धतिहरुमा ? हाम्रा चिन्तनहरुमा कि हाम्रो नेतृत्वको वर्गियआधारमा वा वर्ग स्वार्थमा ?

आलोचनाको स्वतन्त्रता :

सरकारका यी रवैयाको सर्वत्र आलोचना छ । पार्टी भित्र र बाहिर तर सरकार प्रमुख र पार्टी अध्यक्ष आलोचना सुन्न तयार देखिँदैनन । पार्टीका संरचनाहरु भुँईतह सम्म बनेकै छैनन र कमिटीमा छलफल गर्ने र सरकारलाई कमिटी प्रणालीबाट सुझाव दिने एउटा मञ्चपनि कार्यकर्ता र जनतालाई उपलब्ध छैन ।

‘जनवादी केन्द्रियता’ भनेको पार्टी भित्र र बाहिर सबै ठाउँमा लागू हुन्छ । तर पार्टी भित्र ‘केन्द्रियता’ मात्र छ ‘जनवाद’ मरिसकेको छ । माओले चिनियाँ सरकारको नेतृत्व गर्दै गर्दा भनेका थिए— ‘हाम्रा बारेमा मान्छेलाई आलोचना गर्न प्रोत्साहिन गर्नुपर्छ र उनिहरुका आलोचना खप्न सक्ने हुन पहिले आत्मालोचना गर्नुपर्छ र आफुलाई बारम्बार जाँचपरख गर्नुपर्छ ।’ अझ जोड दिएर माओले भनेका छनः ‘तपाई अरुलाई बोल्न दिनु भएन भने तपाईँ एकदिन मिल्काईनु हुनेछ ।’ हामिले दुईतिहाईको नसामा यो कुरा ख्याल गरेका छैंनौ ।

सबै भन्दा मुख्य कुरा माक्र्सवादी अध्ययनले आलोचनात्मक चेत बृद्धि गर्छ, यो चेतले बिद्यमान व्यवस्थाका नायकहरु र समाजका विभिन्न गैर श्रमजिवि तप्काहरुमाथि प्रश्न खडा गर्छ । त्यो प्रश्नले स्वभाविक रुपमा आन्दोलन र अभियान सृजना गर्छ । जुनसुकै नामको होस दलालसत्ता आलोचनात्मक चेतभएका मानिसहरु संग झस्किन्छ । क्रान्तिकारीहरु आलोचनात्मक चेतना भएका मानिसहरु संग सदा सहकार्य गर्न मन पराउँछन । यथास्थितीवादीहरु र प्रतिक्रान्तिकारीहरु तर्सिन्छन ।

औपचारिकतावादको शिकार:

हाम्रो अध्ययन, हाम्रो शासन पद्धति, पार्टी पद्धति सबै कुरा फगत औपचारिकतामा रुपान्तरित हुँदैछ । ‘लोकतन्त्र, समाजवाद र समृद्धि’ यी सब कुरा भाषणमा सिमित हुने खतरा पैदा हुन्छ औपचारिकताले । एक त बिधि नै स्थापित छैन्, अर्कोतिर भएका बिधिमा जिवन्तता छैन, औपचारिकता मात्र छ । यी कुराबाट आन्दोलन जोगिन सकेन भने यसले बिद्यमान समस्या हल गर्न सक्दैन ।

बिश्वबिद्यालयको पढाई पनि अध्ययन अनुसन्धानमा आधारित छैनन । सरकारका कार्यक्रमहरु पनि अनुसन्धानले निकालेका निष्कर्षमा आधारित छैनन । कितावी ज्ञानले मात्र समाजवादमा पुग्न सकिदैन । पुँजीवादलाई गरिखाने बनाउन पनि सकिदैन ।

हामीले संबिधानमा ‘समाजवाद उन्मुख व्यवस्था’ भन्यौं । यसको खास चरित्र के हो ? मौलिक हकहरुको कार्यान्वयन कसरी गरिन्छ ? शिक्षानीति कस्तो हुन्छ ? जनस्वास्थ्य प्रणाली कसरी स्थापित गरिन्छ ? उद्योग र व्यपार नीति के हुन्छ ? यसबारे बहस गरेनौं ।

दुई तिहाईको सरकार नेपाली जनताले सरकारको दिगो पनका लागि मात्र होइन, सरकारले ल्याउने दीगो नीतिका लागि हो । पाँच बर्ष सरकार दिगो नै रहने तर सरकारी नीति अस्थिर रह्यो भने यसले झन खतरा निम्त्याउँछ । त्यसका लक्षण त देखिन थालेका छन । अब पुरक बजेट बनाउने भनेर , यो कुराले सहि सन्देश जाँदैन ।

अब हरेक गाउँमा सरकार छ । एक सरकार अर्को सरकार विचको बिशिष्टतामा फरक छ र समानता पनि छन । यस्तोमा कसरी काम गर्ने ? अब हरेक कमिटीले आफनो गाउँ टोलको अध्ययन र अनुसन्धान गर्न पर्छ । ती निष्कर्षका आधारमा सामाजिक आर्थिक विकासको स्थानिय खाका मिलाउनु पर्छ र स्थानिय सरकारलाई मार्ग दर्शन गर्नु पर्छ । त्यसका लागि कस्तो संगठन चाहिन्छ ? त्यसको नैतिक र बैचारिक धरातल कस्तो हुनु पर्छ ? लोकतन्त्रका नाममा जसरी पनि जित्ने परिपार्टी चाहिन्छ कि त्यसका पनि मापदण्ड बनाउन सकिन्छ ? यी सबैमा अब बहस हुन ढिला भएको छ ।

मार्क्स जन्मद्धिसतबार्षिकीका अवसरमा भएपनि हामीले ‘क्रान्तिको अपरिहार्यता’ बारे जुन बिमर्श शुरु गरेका छौं यो फलदायी हुनेछ । पहिलो सिद्धान्तलाई व्यवहारमा उतार्न अध्ययन र अनुसन्धान आवश्यक छ भने दोश्रो किताबी आग्रहबाट मुक्त भएर ‘सैद्धान्तिक निष्कर्ष’मा पुग्न व्यवहार संग गाँसिएको सिद्धान्त हुन आवश्यक छ । माओले भने झै ‘पुस्तक पुजाको बिरोध गर’ भन्ने वाक्यांश यहाँ विचारणाीय छ । ‘सैद्धान्तिक बिमर्श’को वातावरणलाई हरदम खुल्ला राखौं । सूचना प्रविधिको आजको युगमा महाधिवेशनको छोटो अवधिको बहसले मात्र सहि दिशा लिन सकिँदैन ।

लेखक कार्ल माक्र्स जन्मद्धिसतबार्षिकी कार्यक्रम संयोजन समितिका सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित