
काठमाडौं, २५ भदौ । मंगलबारदेखि हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित कार्यक्रममा बोल्दै नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।
अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने, ‘४ महिनामा हुने कारोबार ६ दिनभित्र हुने, ५ सय करोडको कारोबार हुने हामीले अनुमान गरेका छौं, ७१ वटा संस्थाहरुको उपस्थितिमा १३५ वटा स्टल रहेनछन् ।’
नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको उनको जिकिर छ । दुलालले भने, ‘आजको दिनमा पनि १ प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ । त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो ।’
उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव समेत दिएका छन् । उनले भने, ‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन् । अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन । सरकारले काठमाडौँ उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ । आयात कम गर्नुपर्छ भनिरहेको छ । त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन । आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो ।’
नाडाका महासचिव सुनिल रिजालले पनि नेपालमा गाडीहरुको संख्या सडकको क्षमता भन्दा धेरै भयो भन्ने सरकारी तर्क नै ठिक नभएको दाबी गरेका छन् । उनले अघि थपे, ‘नेपालमानै गाडी उत्पादन गर्ने बिषयमा सरकार पनि गम्भीर हुनुप¥यो । उद्योगधन्दा स्थापना गर्ने वातावरण बनाउनुप¥यो । उद्योग खोल्ने वातावरण अहिले नै बनिसकेको छैन, मोटरसाईकल, टायरजस्ता उद्योगहरु स्थापना भईसकेका छन्, गाडीको पनि हुन्छ, त्यो केही समय लाग्छ ।’
रिजालले मंगलबारदेखि सुरु हुने मेलाको भव्य रुपमा उद्घाटन हुने जनाउँदै मेलाको अवलोकनको लागि सबैलाई आग्रह समेत गरेका छन् । विद्यार्थीहरुलाई एक सय ५० रुपैयाँ र अन्यलाई दुईसय रुपैयाँ प्रवेश शुल्क लाग्नेपनि आयोजकले जनाएको छ ।















प्रतिक्रिया