१ कार्तिक २०८३, शनिबार

रोहिङ्ग्यालाई म्यान्मार फर्काउने कुरा बङ्गलादेशको हातमा छ : सू की

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिंगापुर, ५ भदौ । आङ सान सू कीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गादेशको तत्परतामा निर्भर रहने बताएकी छन् ।

एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट सात लाखभन्दा बढी रोहिङ्या मुस्लिम समुदाय भागेर बङ्गलादेश प्रवेश गरेका थिए ।

गत नोभेम्बरमा दुबै मुलुकले उनीहरुलाई स्वदेश फर्काउने सम्झौतामा सहमति जनाएका तर त्यो सहमति अबरुद्ध भएको छ । गाउँका घरहरु जलाइएको, सैनिकबाट यातना दिइएको, हत्या गरिएको र बलात्कृत भएको तिनै स्थानमा फर्कन उनीहरु डराइरहेका छन् र म्यान्मारका सैनिकको त्रास पनि उत्तिकै छ ।

बङ्गलादेशले रोहिङ्ग्या समुदायको बसाई अस्थायी रहेको बताउँदै आएको छ, तर जबर्जस्ती फर्काउन चाहेको छैन ।

यो सङ्कटका बारेमा सार्वजनिक टिप्पणी नगरेकी नेत्री सूकीले सिंगापुरमा भनिन्, ‘सम्झौतामा उल्लेख भएबमोजिम स्वदेश फर्किने रोहिङ्ग्या समुदायलाई स्वागत गर्न म्यान्मार तयार छ ।’

‘हामी आफैंले एकतर्फी रुपमा समयसीमा तोक्न सकेका छैनौं किनभने हामीले बङ्गलादेशसँग पनि काम गर्नुपर्नेछ,’ म्यान्मारको लोकतान्त्रिक रुपान्तरणका विषयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘बङ्गलादेशले पनि यो प्रक्रिया छिटो पूरा गर्न निर्णय गर्नु पर्दछ ।’

बङ्गलादेशको सीमावर्ती सहर कोक्स बजार आसपास आश्रय लिइरहेका रोहिङ्ग्याले पश्चिम म्यान्मारको रखाइन राज्यमा फर्कनुअघि सुरक्षाको प्रत्याभूति हुनुपर्ने र नागरिकताको अधिकार प्राप्त हुनुपर्ने माग गरिरहेका छन् । संयुक्तराष्ट्र सङ्घले उनीहरुको फिर्तीका लागि परिस्थिति अनुकूल भइनसकेको जनाएको छ ।

अमेरिका र राष्ट्रसंघले म्यान्मारको सैनिक गतिविधि जातीय सफायमै केन्द्रित भएको आरोप लगाउँदै आएका छन् । म्यान्मारले ठूलो सङ्ख्यामा रोहिङ्ग्या समुदायलाई स्वीकार्ने सम्भावना पनि न्यून रहेको बताइन्छ ।

रोहिङ्ग्या बिद्रोहीले प्रहरी पोष्टमा आक्रमण गरेपछि उनीहरु विरुद्धको कारबाही गत वर्ष अगष्ट २५ मा शुरु भएको थियो । रोहिङ्ग्या बिरुद्धको सैनिक कारबाहीलाई नियन्त्रणमा राख्न चौतर्फी आग्रह गरिएपनि हजारौं रोहिङ्ग्या मारिएको आशंका गरिएको छ । -रासस