२१ कार्तिक २०८३, शनिबार

एक महिनादेखि उठेन मुसिकोटको फोहोर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, १५ साउन । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा गत असार महिनादेखि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । चारवर्ष अघिबाट मुसिकोट नगरपालिका वडा नम्बर २ को पानेढुङ्गामा फोहोर फाल्दै आइरहेकोमा हाल स्थानीयवासीले अवरोध गर्दा समस्या देखिएको हो ।

एक महिनादेखि यहाँको फोहोर व्यवस्थापनमा ढिलाई गरिदा सदरमुकाम मुसिकोटको खलंगा बजार, सल्ले, सेरीगाउँ र बागबजार दुर्गन्धित बन्दै गइरहेका छन् । सदरमुकाम मुसिकोट बजारको चोकचोकमा दिनहुँ बजारबाट निस्किने फोहोर जथाभावी थुपार्ने गरिएको छ । केहीले भने बजारमै फोहोर संकलन गरेर जलाउने गरेका छन् ।

लामो समयसम्म बजारको आसपासमा थन्किएको फोहोर व्यवस्थापनमा ढिलाई गरिदा स्थानीयवासीलाई चिन्ता थपिएको छ । दिनहुँ फोहोर बढ्दै जाँदा बजारमा हिँडडुल गर्ने सर्वसाधारण तथा व्यापार व्यवसायीलाई फोहोरको दुर्गन्धले असर पारेको छ । बजार क्षेत्रको यत्रतत्र स्थानमा थन्किएको फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयवासी बताउँछन् ।

आठवर्ष अघि मुसिकोट नगरपालिकाको पानेढुङ्गामा बसपार्क निर्माणका लागि भन्दै स्थानीयले २१ रोपनी र रंगशाला निर्माणका लागि ७० रोपनी जग्गा नगरपालिकाको नाममा गरिदिएका थिए । तर, बसपार्क निर्माणका लागि दिइएको जग्गाको सतह मिलाउने भन्दै नगरपालिकाले २०७१ सालदेखी यस ठाउँमा फोहोर फाल्दै आइरहेको थियो । पाँचवर्षदेखि मुसिकोट बजार लगायत आसपासका बजार क्षेत्रको फोहोर उक्त ठाउँमा फाल्दै गर्दा दुर्गन्ध बढेको भन्दै स्थानीयले फोहोर फाल्नमा रोक लगाएका हुन् ।

उक्त ठाउँमा फोहोरको दुर्गन्ध बढ्दै गइरहेकाले स्थानीयले उठाएको आवाज स्वभाविक भएको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमको भनाई छ । उनका अनुसार स्थानीयको समस्यालाई समाधान गर्नेगरि फोहोर व्यवस्थापनको विषयमा समेत छलफल भईरहेको छ ।