
रुकुम, १४ साउन । मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने रुकुम पश्चिमको मुसिकोट–चौरजहारी यातायात सेवा बन्द भएको छ । अविरल वर्षासँगै सडकखण्डको विभिन्न ठाउँमा झरेको पहिरोका कारण दुई हप्तादेखी यातायात सेवा बन्द भएको हो ।
सडकखण्डमा झरेको पहिरोले मुसिकोट–चौरजहारी तथा चौरजहारी–मुसिकोटका लागि चल्ने नियमित यातायात सेवा ठप्प भएको छ । प्रत्येक दिन साना तथा ठूला सवारी साधनहरु चल्ने गरेको यस सडकखण्डमा यातायात सेवा नै बन्द हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
वर्षाले सडक अवरुद्ध हुँदा काम विशेषले सदरमुकाम आउने र फर्किने गरेका धेरैजसो यात्रुहरु पैदल हिँड्न बाध्य छन् । यस्तै अवरुद्ध सडकका कारण दैनिक उपभोग्य वस्तुका सामान ढुवानी लगायत विशेष कामकाजका लागि गन्तव्यमा पुग्ने यात्रुलाई अफ्ठेरो हुने गरेको छ । उपचारका लागि चौरजहारी अस्पताल तथा मुसिकोट आउने बिरामीहरु अवरुद्ध सडकका कारण झन् समस्यामा परेका छन् ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत चौरजहारी नगरपालिकाको वडा नम्बर ८ को ढुङ्गेखानी र गोइरीज्यूला तथा सानीभेरी गाउँपालिकाको अधिकांश सडकखण्डको भूभागमा पहिरो झर्दा यातायात सेवा बन्द भएको हो ।
वर्षा रोकिएको अवस्थामा भने मुसिकोटबाट चाईनाबगर सम्मका लागि केही साना जीपहरु फाट्टफूट्ट चल्ने गरेका छन् । मुसिकोटदेखी चौरजहारी सम्मको ४६ किलोमिटर दूरी रहेको उक्त सडकखण्डको धेरैजसो भूभागमा पहिरो झर्दा तीब्र गतिमा निर्माण भईरहेको मध्यपहाडी लोकमार्ग सडकखण्डको काम समेत प्रभावित बनेको छ ।
वर्षाका कारण प्रभावित बनेको यस मध्यपहाडी लोकमार्गको काम आगामी दुई वर्षभित्रै सम्पन्न गर्ने बताइएको छ ।












प्रतिक्रिया