
-मिना बुढाथोकी
साउन, १ सल्यान । पछिल्लो समय यहाँका महिलाहरुमा मानसिक समस्या देखिन थालेको छ । जिल्लामा मानसिक रोगीको संख्या बढ्दै गई रहेको बेला यहाँका धेरै महिला हरुमा मानसिक समस्या देखिन थालेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानले दिएको जानकारी अनुसार जिल्लामा गत वर्ष १ हजार ४ सय मानसिक रोगी भेटिएका थिए । यस वर्ष पनि एक हजार पाँच सयभन्दा बढीमा मानसिक समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिलामा डिप्रेसन, आत्तिने, निद्रा नलाग्ने जस्ता मानसिक समस्या देखिएका छन ।
‘मानसिक रोगबाट पीडित हुनेमा महिलाको संख्या ७० प्रतिशत बढी छ’ जिल्ला स्वास्थ्य कार्यालयका पप्रमुख डा. अर्जुन बुढा मगरले भने । अहिले जिल्ला अस्पतालमा दैनिक एक सय ५० बढी बिरामी उपचारका लागि आउने गरेकोमा १५ जना सम्म मानसिक समस्याका बिरामी हुने गरेको उनले बताए ।
‘आर्थिक अवस्था कमजोर भएका र पति वैदेशिक रोजगारीका लागि गएका महिला हरुमा यस्तो समस्या बढी मात्रामा देखिएको छ’ उनले भने, ‘त्यसले पनि महिलामा मानसिक समस्या देखिएको हो ।’ महिलामा हिंसाका कारण पनि मानसिक समस्या देखिएको उनले जनाए ।
जिल्लाको थारमारे र लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा सबैभन्दा बढी मानसिक रोगी भेटिएको कार्यालयले जनाएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले जिल्ला अस्पतालमा साताको एक पटक मानसिक रोगीलाई परामर्श दिदै आएको छ । मानसिक रोगका कारण जिल्लामा धेरैले आत्महत्या गरेका छन् ।












प्रतिक्रिया