
काठमाडौँ, ११ असार । महेन्द्ररत्न क्याम्पस ताहाचलका विद्यार्थीले सोमबार विरोध प्रदर्शन सभा गरेका छन् । महेन्द्रत्न क्याम्पस विद्यार्थी सङ्घर्ष समितिको आयोजनामा शिक्षाशास्त्र अध्ययन गर्ने स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले हालै गरिएको शिक्षक सेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सङ्घर्ष समितिका संयोजक दिपेन्द्र शाहीले शिक्षक सेवा आयोगले हालै गरेको विज्ञापन षडयन्त्रमूलक भएको टिप्पणी गरे । शाहीले भने, ‘विद्यार्थीसँग यसअघि माइतिघर मण्डलामा ८ दिनसम्म गरिएको रिले अनशन र मण्डलामै गरिएको ६ दिने आमरण अनशनको परिणाम परीक्षामात्र स्थगन गरेको तर, शिक्षा ऐन हुबहु लागू गर्दा विरोध गर्नुपरेको हो ।’
विरोध सभामा अनेरास्ववियु संयोजक लोकेन्द्र बोहोराले विद्यार्थीहरूको मागमा ऐक्यवद्धता रहेका बताए । यसैगरी अखिल क्रान्तिकारी ताहाचल क्याम्पस कमिटीका अध्यक्ष टोपेन्द्र ओलीले चरणवद्ध रूपमा आन्दोलन गर्ने बताए । ओलीले समाजवाद ल्याउनका लागि बाम गठबन्धनको दुई तिहाइ भएको सरकारले समेत विद्यार्थीहरूको हक, अधिकार कुल्चेकोले जस्तोसुकै कदम चाल्न निरन्तर दबाबको अभियान जारी राख्ने चेतावनी दिए ।
कार्यक्रममा जनसाहित्यिक मञ्च नेपालका केन्द्रिय सदस्य जगत वाशिष्ठले नागरिकले नागरिकता पाउनु, राज्यका हरेक निकायमा निर्वाचित हुने अधिकार हुनु र रोजगारका अधिकार जनतालाई दिने सरकारको दायित्व र जनताको हकसमेत भएकोले राज्यले शिक्षित बेरोजगारलाई स्थायी अध्यापन अनुमतिपत्रबाट वञ्चित गरी परीक्षा लिन खोजिएकोमा सो परीक्षा खारेज गरी पहिला अनुमतिपत्रको परीक्षा लिनुपर्ने र खुला रूपमा विज्ञापन गरी सबैले सहभागी हुने मौका दिनुपर्ने बताए ।
नेपाल विद्यार्थी सङ्घ महेन्द्ररत्न क्याम्पसका उपसभापति दिवाकर बोहोराले विद्यार्थीको मागप्रति ऐक्यवद्धता रहेको यसमा यथासम्भव प्रयत्नशील रहनुपर्ने धारणा राखे । शिक्षा ऐनको नवौँ संशोधन राष्ट्रका लागि घातक रहेकोले खारेजी गर्नुपर्ने, संशोधनले नातावाद र कृपावादको प्रविष्टि हुने र गुणस्तरीय शिक्षा कायम नहुने हुँदा खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नु पर्ने, आन्तरिकमा ७५ प्रतिशत र खुला २५ प्रतिशत खारेजी गरी प्रत्येक वर्ष अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गरी शिक्षक रिक्त दरबन्दीमा खुला प्रतिस्पर्धा गराउनुपर्ने लगायतका मागहरू रहेका छन् ।












प्रतिक्रिया