शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

अरुण–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको ३९ घन्टापछि उद्धार

दैनिक नेपाल २०७५ असार ४ गते ६:४०

संखुवासभा, ४ असार । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा पहिरोले भित्रै थुनिएका चार कामदारको ३९ घन्टापछि उद्धार गरिएको छ । उनीहरू शुक्रबार साँझ ९ बजेदेखि सुरुङभित्र फसेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चारै मजदुरको आइतबार बिहान ११ बजे उद्धार गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक श्याम सारूमगरले बताए । माथिबाट झरेको पहिरोले सुरुङको प्रवेशद्वार थुनिएको थियो । पहिरोले झारेको ढुंगा ब्लास्टिङ गरी सुरुङ जाने ट्र्याक खोलेर कामदारको उद्धार गरिएको हो ।

सुरुङबाट कालिकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखन्डका ५५ वर्षीय बुधन मुन्डा र भारत बिहारका ४५ वर्षीय नन्द किशोरको उद्धार गरिएको थियो । उद्धार गरिएका नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइँदै छ । भारतीय कामदार भने सकुशल रहेकाले सोमबार मात्रै खाँदबारी ल्याइने प्रहरीको भनाइ छ ।

घटनालगत्तै शुक्रबार साँझ नै सुरक्षाकर्मी उद्धारमा खटिए पनि रात परेकाले सम्भव भएको थिएन । आइतबार बिहानैदेखि स्काभेटरले पहिरो पन्छाउन थाले पनि लगातारको वर्षा र छिनछिनमै पहिरो झरिरहने समस्याले उद्धारमा ढिलाइ भएको थियो । पहिरो हटाउन उत्तर–दक्षिण कोसी सडक आयोजना र अरुण–३ मै काम गरिरहेको जेपी निर्माण कम्पनीका ६ वटा स्काभेटर प्रयोग गरिएको थियो ।

सुरुङमा भेटिएको एउटा ठूलो ढुंगा ब्लास्टिङ गरी फुटाइएको थियो । अर्को ढुंगामा भने प्वाल बनाएर फसेकाको उद्धार गरिएको थियो । घटनास्थलमा स्वास्थ्यकर्मी, अक्सिजन र औषधि तयारी अवस्थामा राखिएको प्रहरी नायब उपरीक्षक श्याम सारूमगरले बताए ।

नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको सुरुङमार्ग २६ मिटर खनिएको छ । सुरुङको प्रवेशद्वार पुर्ने गरी करिब सय मिटरमाथिबाट पहिरो खसेको थियो । आयोजना भारतीय निर्माण कम्पनी सतलजले बनाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित