
काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको सुनाए । उनले भने, ‘हामीसँग अहिले कसैसँग बढि र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भारतसँग खुल्ला सिमा भएको कारणले सम्बन्ध पनि त्यही अनुसार मजबुद रहेको सुनाए । उनले भने, ‘हाम्रो अलिक प्रगाढ सम्बन्ध भारतसँग छ, राजनीति र भूगोलको हिसाबले भारतसँगजस्तो चीनसँग हाम्रो त्यस्तो सम्बन्ध छैन ।’ नेपालको अवस्था भारतसँग जति सहजता छ त्यति सहजता चीनसँग नरहेको पनि उनले बताए ।
साक्षात्कारमा नेता खड्काले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट प्रचुर सदुपयोग गर्नसक्नुपर्ने बताए । उनले भने, ‘भारत र चीनको प्रगतिलाई हामीले आत्मसात् गर्नुपर्छ, उनीहरुको प्रगतिबाट हामीले सिक्नुपर्छ, लाभ लिन सक्नुपर्छ ।’
उनले अहिलेको सरकारले न्यायालयलाई पनि जकडेर राखेको उनको आरोप छ । उनले भने ,‘यो सरकार तानाशाह जन्माउन उन्मुख छ, हाम्रो पार्टी कार्यालयमा प्रहरी लगाई तोडफोड गरेको छ, व्यवसायीहरुमाथि द्वेष पालेको छ ।’ सरकारको यही र यस्तै रवैया रही रह्यो भने कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ । उनले भने, ‘हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं ।’












प्रतिक्रिया