काठमाडौं, १ असार । सत्तारुढ दलकै सांसदले मन्त्रीलाई जेल हाल्नुपर्ने भनेपछि प्रतिनिधिसभामा बजेटमाथिको छलफल दुई दिन पर सरेको छ ।
नेकपाका सांसदहरूले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै सरकारको तीव्र आलोचना गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दाङ १ बाट निर्वाचित सांसद मेटमणि चौधरीले बजेट विनियोजनमा पक्षपात गर्नेलाई जेल हाल्नुपर्ने बताए ।
‘म्याच फिक्सिङ गर्ने खेलाडी जेल जानुपर्छ भने बजेट विनियोजन र कार्यक्रममा फिक्सिङ गरेर आफ्नै निर्वाचन क्षेत्रमा बढी कार्यक्रम पार्ने मन्त्री जेल जानुपर्ने कि नपर्ने ? त्यस्ता मन्त्रीलाई जेल हाल्नुपर्छ,’ उनले भने ।
उनले आफ्नो क्षेत्र मात्रै देख्ने र दाङलगायतका ऐतिहासिक जिल्लामा बजेट विनियोजन गर्न पक्षपात गरेको भन्दै मन्त्रीलाई जेल हाल्नुपर्ने बताएका हुन् । उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाम लिएरै उनले दाङमा कम बजेट पारेकोप्रति आपत्ति जनाए ।
सांसद चौधरीसहित सत्तारुढ दलका सांसद खगराज अधिकारी, प्रेमकुमार आले, गजेन्द्रबहादुर महत, नारदमुनि राना, राजेन्द्रकुमार राईलगायत दर्जन बढी सांसदले बजेट विनियोजन पक्षपातपूर्ण रहेको बताएका थिए ।
नेकपाका सांसद झपट रावलले छलफलका लागि मन्त्रालयले उपलब्ध गराएको पुस्तक सभामुखमार्फत सम्बन्धित मन्त्रीहरूलाई फिर्ता गरेको घोषणा गरेका छन् । बजेट विनियोजन नेतामुखी र मन्त्रीमुखी भएको, पक्षपातपूर्ण रहेको र ७ नम्बर प्रदेशलाई उपेक्षा गरिएकाले बजेट विनियोजन गरिएका पुस्तक फिर्ता गरेको बताए ।
‘मैले हस्ताक्षर गरेर ल्याएका यी पुस्तकहरू सभामुखमार्फत मन्त्रीहरूलाई फिर्ता गर्छु,’ उनले भने, ‘खेलकुदमन्त्रीले आफ्नो क्षेत्रमा ६५ करोड ८५ लाख विनियोजन गर्नुभएको छ । तर, ७ नम्बर प्रदेशमा दुई करोड पाँच लाख मात्रै विनियोजन भएको छ । त्यहाँका जनताले तपाईंलाई सराप्दैनन्,धिकार्दैनन् ? तपाईंलाई पक्षपात गर्दा पाप लाग्छ कि लाग्दैन ?’
सत्तारुढ सांसद प्रेमबहादुर आलेले सरकारले डोटीमा बजेट विनियोजनमा उपेक्षा गरेको आरोप लगाए । सांसद गजेन्द्रबहादुर महतले बजेट विनियोजनमा आफूखुसी निर्णय गर्ने परिपाटी हाबी भएको गुनासो गरे ।














प्रतिक्रिया