२ कार्तिक २०८३, सोमबार

मर्स्याङदी करिडोरको एक युनिट विद्युत पनि खेर जान नदिने प्राधिकरणको दाबी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा

लमजुङ, १४ जेठ । मर्स्याङदी नदी करिडोरमा नीजि क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत पनि खेर जान नदिने नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ ।

लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधिन आयोजना सम्पन्न हुन कम्तिमा दुई वर्ष लाग्ने देखिएको भन्दै त्यस अवधिमा प्राधिकरणले सव स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले प्रसारण लाइन तथा सव स्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइनका आयोजना प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

‘दोर्दी करिडोरमा निर्माणाधिन आयोजना सम्पन्न हुने तर प्रसारण लाइन नबनाइदिंदा विद्युत खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो’ ,उनले भने । आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउने र प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए ।

प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिंदा विद्युत खेर जाने अवस्था आउन लागेको सार्वजनिक भएपछि घिसिङ नेतृत्वको टोली निर्माणाधिन प्रसारण र जलविद्युत आयोजनाको अव्स्था बुझ्न स्थलगत निरीक्षणमा पुगेका हुन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा आएका हुन् ।

टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सव स्टेसनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र बुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर किर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्र भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।

कीर्तिपुरमा सव स्टेसन बनाउने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी ए ले विद्युत गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको जनाएको छ । जसका कारण ठेकेदारलाई साइट दिन नसकिएको आयोजनाले बताएको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक डा.आत्माराम घिमिरे र सञ्चालक राम बहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्ने प्रतिवद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले डिसेम्बर २०१८ भित्र निर्माण सक्ने दावी गरेका छन् ।

प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यवासायिक रुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) भने अगस्ट २०१९ छ । हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पिपिएअनुसार, आयोजनाको आरसिओडी पनि अगस्ट २०१९ नै रहेको छ ।

प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताए । दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सव स्टेसन बनाउनु पर्ने र उदिपुर–मार्किचोक प्रसारण लाइन बन्नुपर्ने जनाएको छ । सव स्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिरन्तन राणाले बताए ।