
काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणको मिति विहीबार बस्ने एकता संयोजन समितिको बैठकले तोक्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफलले एकता संयोजन समितिको बैठक विहीबारलाई डाकेको छ ।
एकताका विषयमा संशय पैदा भएपछि ओली–प्रचण्डले बुधबार बैठक गरेका थिए । पटकपटकका बैठकमा एकताका लागि मिल्न बाँकी रहेका कुरामा सहमति गरी खेस्रा तयार भइरहेको बताइएको थियो ।
संयोजन समितिको बैठकमा सहमतिका लिखित दस्ताबेजमा पुनर्विचार र संशोधन गरी प्रमुख नेताहरूको सहमतिका आधारमा एकीकरण मिति तोक्न सकिने एक नेताले बताए ।
‘अध्यक्ष तहमा सकारात्मक कुरा भइसकेको छ । अब खेस्रामा सम्पादन गरी हस्ताक्षरसहित एकीकरण मिति घोषणा गरी अघि बढ्ने तयारी भएको छ’, खुमलटार स्रोतले भन्यो,‘एकीकरणका विषयमा सबै नै गम्भिर देखिनुभएको छ ।’
अध्यक्षद्वयको बैठकमा एकीकरण ढिलो गर्दा विभिन्न प्रकारका शक्ति हावी हुनसक्ने विमर्श भएको थियो । केन्द्रीय सदस्यको संख्या, पार्टीमा नेतृत्वको हैसियत सबै विषयमा कुरा मिलिसकेको बताइएको छ ।















प्रतिक्रिया