लण्डन, ३१ वैशाख । च्याम्पियन्स लिगको यो सिजन लिभरपुलका लागि उत्कृष्ट रह्यो भन्दा फरक नपर्ला । अब एउटा कसी बाँकी छ, च्याम्पियन्स लिग फाइनल । जो साबिक विजेता रियल मड्रिडसँग १२ दिनपछि किएभमा हुँदैछ ।
प्रिमियर लिगमा उसले चौथो स्थान पक्का गर्दै आउँदो सिजन पनि च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा लिभरपुलले ब्राइटनलाई हरायो र शीर्ष चारमा स्थान बनायो ।
लिभरपुलका लागि भन्दा पनि टिमको जिम्मा काँधमा लिएका इजिप्टियन मोहम्मद सालहका लागि यो सिजन निकै उत्कृष्ट रह्यो । उनले प्रिमियर लिगमा यो सिजन सर्वाधिक गोल गर्दै गोल्डेन बुट पक्का गरेका छन् ।
उनी यो सिजनका मात्रै होइन प्रिमियर लिग इतिहासमा एउटै सिजन धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भएका छन् ।
ब्राइटनसँगको खेलमा टिमलाई ४–० को जित दिलाउने क्रममा सुरुवाति गोल सालहले नै गरेका हुन् । उनले २६ औँ मिनेटमा गरेको गोल उनको त्यो कीर्तिमानी गोल थियो, जसले अरुलाई पछि पार्यो ।
उनले लिभरपुलका लागि अहिलेसम्म यो सिजन सबै प्रतियोगितामा गरेर ५१ खेलमा ४४ गोल गरेका छन् । प्रिमियर लिगमा मात्रै उनले ३२ गोल गरे । गोल्डेन बुट पक्का गरे । अनि एकै सिजन धेरै गोल गर्ने खेलाडीको रुपमा आफ्नो नाम पनि लेखाए ।
गएको समरमा रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका सालहले जादु नै गरे । उनले ३२ गोल गरेर सन् १९९५–९६ को सिजनमा ब्ल्याकबर्नका एलन शिएररले बनाएको कीर्तिमान भंग गरे । – एजेन्सी















प्रतिक्रिया