
काठमाडौं, ३० वैशाख । आइपीलमा १२ औं खेलमा ओपनर बलरका रूपमा नेपाली युवा खेलाडी सन्दिप लामिछानेलाई पिचमा उतारेको दिल्लि डेयरडेभिल्सले आइपीएल उपाधीको आशा मारिसकेको छ । यो क्लव दोस्रो चरणमा प्रवेश गर्ने सबै सम्भावनाहरूबाट बाहिर निस्किसकेको छ । यद्यपि, प्रतिष्ठाको खेल भने उसले खेल्नै पर्ने हुन्छ ।
शनिबार राती भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा सन्दिपले चार ओभर बलिङ गरे । एउटा विकेट लिए । यु १९ भारतीय राष्ट्रिय टोलीका कप्तान पार्थिव पटेलको विकेट सन्दिपले लिए । उनले २४ बलमा २५ रनमात्र दिए । यो नै खेलको सबैभन्दा कम रन खर्च भएको ओभर थियो ।
सन्दिपले पाएको मौकामा बिराट कोहलीको विकेट लिएको देख्ने सपना धेरै नेपालीसँग थियो । खेल चलिरहेका बेला सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले कोहलीको विकेट सन्दिपले लिने अपेक्षा गरेका थिए । कोहलीले सबैका बलमा रन लिइँरहँदा सन्दिपले भने अत्यन्तै कममात्र मौक दिए । उनले एक चौका र एक छक्का मात्र दिएका थिए ।
यद्यपि उनको खेलको सर्वत्र प्रशंशा भएको छ । बीबीसी नेपालीका अनुसार १७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा ‘उत्कृष्ट बलिङ’ गरेको टिप्पणी भएको छ ।
सन्दीपले कोहली र अर्का विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भीलीयर्सलाई बलिङ गरेका थिए। एक विकेट लिएका सन्दीपले ‘किफायती’ बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ । प्रतियोगिताको ११ औँ संस्करणमा दिल्लीले लिलामीमा २० लाख भारू तिरेर लिएका लामिछानेले आफ्नो टोलीले १२ औँ खेल खेल्दा मौका पाएका हुन् ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएलमा छनोट भएको विषय राजधानीमा भएको अभिनन्दनका क्रममा चर्चा गरेकै दिन दिल्लीले उनलाई आफ्नो ‘ओपनिङ बलर’का रूपमा प्रस्तुत गरेको थियो। सन्दीपको बलिङ एशोशियट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आइपीएलको आफ्नो पहिलो खेलमा गरेको ‘उत्कृष्ट प्रदर्शन’ भएको इएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेना बताउँछन्।
सन्दीपले आफ्नो पहिलो ६ बलमा ६ रन दिएका थिए भने दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिएका थिए । दिल्ली डेयरडेभिल्सका पाँच बलर मध्ये उक्त खेलमा उनले सबैभन्दा कम रन दिएका थिए । शनिवारको खेलमा ‘नट आउट’ ७२ रन प्रहार गरेर ’म्यान अफ द म्याच’ बनेका ब्याट्सम्यान एबीडी भीलीयर्सले खेलपछि सन्दीपको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘लामिछाने भर्खरै १७ वर्षका छन् र उनले प्रशंसनीय खेल देखाएका छन् । यी केटाहरूले कसरी यस्तो खेल्छन् म आश्चर्यमा पर्छु। यो भारतीय क्रिकेट र समग्र क्रिकेटका लागि ठूलो उपलब्धि हो ।’
आफ्नो पहिलो खेलपछिको एउटा अन्तर्वार्तामा सन्दीपले दिल्ली डेयरडेभिल्सको टोलीमा स्थान पाएकोमा खुशी व्यक्त गर्दै विश्वका दुई अग्रणी ब्याट्समेनविरूद्ध बलिङ गर्न पाउनु आफैँमा उपलब्धि भएको बताएका छन् । ‘मैले मेरा प्रशिक्षकहरूबाट धैर्य गर्न सिकिरहेको छु, अझै लामो यात्रा गर्नुपर्नेछ, टोलीका प्रशिक्षक र सबै सदस्यबाट राम्रो सहयोग पाइरहेको छु’, उनले भनेका छन् ।
सन्दीपको पहिलो खेलको प्रदर्शनलाई आइपीएलको आधिकारिक ट्विटर खातामा ‘ऐतिहासिक’ भनिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि उनलाई आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेकोमा बधाई दिएको छ । खुशी व्यक्त गर्नेमा सन्दीपलाई अष्ट्रेलियामा लगेर अभ्यासको मौका दिने अष्ट्रेलियाको टोलीका पूर्वकप्तान माइकल क्लार्क पनि छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘मेरा साथीले आइपीएलमा पहिलो पटक खेल्ने मौका पाएका छन्, उनको कथा कति रोमाञ्चक छ!’
भारतीय क्रिकेट विश्लेषक हर्ष भोग्लेले सन्दीपले विकेट लिनुलाई एउटा ठूलो क्षण भन्दै ट्वीट गरेका थिए । उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ ।
सन्दीपलाई उनको पहिलो खेलका लागि शुभकामना दिनेमा सनराइजर्स हैदराबादबाट खेलिरहेका अफगान बलर राशिद खान सहितका खेलाडी छन् । नेपाली क्रिकेट प्रशंसकहरूले पहिलो खेलमा सन्दीपले गरेको कसिलो बलिङको प्रंशसा सामाजिक सञ्जालमा गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा पहिलो विकेटका लागि सन्दीपलाई बधाई दिँदै उनको सफलतामा गर्व लागेको उल्लेख गरेका छन् ।
कतिपयले चाहिँ दिल्ली डेयरडेभिल्सले सन्दीपलाई पहिला नै मौका दिनुपर्ने धारणा ट्विटरमा राखिरहेका छन् । निकै ठूलो लगानी रहेको र विश्व क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेर्ने भनिएको आइपीएलमा खेल्न गएको ज्यानुअरीमा सन्दीप छानिएका थिए । यो प्रतियोगितापछि उनले वेस्ट इण्डिजका खेलाडी क्रिश गेलको क्लबबाट क्यारीबीयन लिग क्रिकेट खेल्नेछन् ।
१५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा समावेश भएका सन्दीपले हालै सम्पन्न विश्व क्रिकेट डिभिजन दुईमा १७ विकेट लिएका थिए । त्यसपछि जिम्बाब्वेमा भएको डिभिजन १ क्रिकेटमा उनले गरेको प्रदर्शनले नेपाललाई एक दिवसीय क्रिकेट मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।















प्रतिक्रिया