२२ कार्तिक २०८३, आइतबार

औषधि उत्पादन संघलाई अनुगमन गर्छु, स्वास्थ्य क्षेत्रको सिन्डिकेट तोड्छु : मन्त्री अर्याल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ वैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिन्डिकेट तोड्ने उद्धघोष गरेकी छिन् । उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिन्डिकेट तोड्छु ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो चेतावनी दिएकी हुन् । नेपालको संविधानको मौलिक हकमा नै आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको बताउँदै मन्त्री अर्यालले सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह ः एक अस्पताल’ को कार्यक्रम आउने जानकारी दिईन् ।

मन्त्री अर्यालले स्थानीय तहलाई औषधि खरिदका लागि दिइएको रकम सदुपयोग गर्न तरिकामा अन्योल देखिएको वा कतिपय ठाउँमा रकमान्तर गरिएकाले स्वास्थ्य सेवा प्रभावित भएको पाइएको पनि गुनासो पोखिन् । उनले भनिन्, ‘आधारभूत स्वास्थ्य सेवालाई वडा तहसम्म पु¥याइनेछ, सबै वडामा स्वास्थ्य ईकाइ खडा गर्न प्राथमिकता दिइनेछ ।’

सर्वसाधारणलाई ढाड सेक्नेगरी आफूखुशी शुल्क लिँदै आएका निजी अस्पतालको शुल्क निर्धारण र कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आफूले परामर्श शुरु गरेकोपनि मन्त्री अर्यालले जानकारी दिईन् । उनले अघि थपिन्, ‘ती अस्पतालले लिने शुल्क निर्धारण गरिएका आधारमा हुन्छ र कुन सेवाका लागि कति शुल्क लाग्ने हो सेवाग्राहीले थाहा पाउनेगरी पारदर्शीरुपमा टाँस्न पनि निर्देशन दिन्छु ।’

त्यस्तै उनले औषधीको मूल्य फरक–फरक पाइएकोले अब एउटै दर रेट कायम गर्नेपनि विश्वास दिलाईन् । उनले औषधीको अभाव नहुने विश्वास दिलाईन् । उनले थपिन्, ‘अहिले हामीसँग ९ वटा मेडिकल स्टोर छन्, जहाँ औषधी अभाव हुन्छ, हामी पुर्‍याउँछौँ ।’

विपन्न नागरिक औषधी उपचार कोष अनुसार ८ प्रकारका रोगको लागि दिईन सहायता रकम अहिले कोषमा नरहेको बताउँदै यो कोषमा पैसा पूर्ति गर्नेगरि अर्थमन्त्रालयसँग आफूहरुले छलफल गरिरहेको पनि मन्त्री अर्यालको भनाई थियो ।

त्यस्तै उनले मन्त्रालयले औषधी व्यवस्थापनको लागि सक्रिय भएर काम गरिरहेको पनि जनाईन् । उनले स्वदेशी औषधीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताईन् । उनले औषधीमा नेपालीहरुले बार्गेनिङ नगर्ने बताउँदै चिकित्कसकहरुलाई स्वदेशी उत्पादनका औषधीलाई पहिलो प्राथमिकता दिन आग्रह गरिन् ।

मन्त्री आर्यालले आफूले औषधी उत्पादन संघलाई पनि अनुगमन गर्ने तयारी गरिरहेको जानकारी दिईन् । उनले भनिन्, ‘औषधी लगायत स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति तथा सिन्डिकेटहरु अन्त्य गर्न म लागिपर्नेछु ।’