–मिना बुढाथोकी
सल्यान, २५ बैशाख । सिन्डिकेटको पुर्ण रुपमा अन्त्यका लागी सरकारले चालेको कदममा आफुहरु बाधक नभएको सल्यान-रुकुम यातायात व्यवसायी समितिले दावी गरेको छ । मंगलबार सल्यानको बागचौरमा पत्रकार सम्मेलनको आयोजना गरि समितिका अध्यक्ष लोकमान बुढाथोकीले सरकारले चालेका हरेक कानुन सम्मत कामलाई सम्मान गर्न आफुहरुको दायित्व रहेको बताए ।
‘सल्यान रुकुम यातायातले कहिल्यै सिन्डिकेटको समर्थन गरेन’ उनले भने, ‘अहिले चालेको सरकारको कदममा हाम्रो पुर्ण समर्थन छ ।’ जनतालाई सजिलोको लागी आलोपालो गरेको दाबी गर्दै उनले अहिलैकै अवस्थामा सबै गाडि एकैसाथ चलाउदा दुर्घटना ह्वात्तै बढ्ने बताए ।
उनले सरकारले सिन्डिकेट अन्त्यको लागि थालेको अभियान बिचमा छाडेमा ठुलो दुर्घटना हुने बताए । ‘गृहमन्त्रीले सिन्डिकेट अन्त्यको प्लेन चलाइ सक्नुभयो’ उनले भने, ‘प्लेन सहि ठाउँमा पु¥याउनुहुन्छ की बिचैमा दुर्घटना गराउनुहुन्छ, त्यो हेर्न वाँकी छ ।’
विभिन्न सामाजिक काममा समेत सकृय रहेको सल्यान रुकुम यातायात व्यवसायी समितिले तीन दिनअघि समितिको नाम भएका साइनबोर्ड, ड्रेस, परिचयपत्र नलगाउने निर्णय गरेको थियो भने टिकट काट्न समेत बन्द गरेको थियो । आफुहरु समिति भंग गरी प्रालिमा दर्ता गर्ने तयारीमा रहेको समेत उनले बताए ।
सरकारले पनि तत्काल विधि र प्रकृया स्पष्ट पार्नुे उनले बताए । उनले यातायातमा सिन्डिकेट हटाए जस्तै अन्य क्षेत्रमा भएका सिन्डिकेटको पनि अन्त्य गर्नु पर्ने माग गरे । उनले सबै भन्दा पहिला राजनितिमा भएको सिन्डिकेटको अन्त्य हुनु पर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै यातायात व्यवसायी समितिका अध्यक्ष बुढाथोकीले अहिले पार्टी भित्र महासिन्डिकेट रहेको भन्दै त्यो सिन्डिकेट तोड्न एकदमै जरुरी रहेको बताए । उनले अहिले प्रधानमन्त्री केपी शर्मा वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले समेत आलोपालो गरि प्रधानमन्त्री हुने कुरामा जनातालाई अलमल्याई रहेको उनले बताए । ‘देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुँदा आलोपालो प्रणाली हुने अनि व्यवसायीले पनि त्यही आलोपालो गर्दा त्यो अपराध कसरी भयो ?’ उनले प्रश्न गरे ।












प्रतिक्रिया