काठमाडौँ, २४ बैशाख । स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानलगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने भएका छन् ।
सोमबार एक समारोहकाबीच द्विपक्षीय सम्झौतामा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले हस्ताक्षर गरेका छन् । नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजबीचको सहकार्यले पश्चिम नेपालमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाबाट विरामीहरुले लाभ पाउने नेपाल मेडिसिटी अस्पतालका उपाध्यक्ष अनिल ओडुविलले बताए ।
विशेषगरी हेली ईमर्जेन्सी सेवा, मुटु रोग, क्रिटिकल केयर सेवामा दुवै संस्थाले सहकार्य गर्ने ओडुविलले जनाए । नेपालगञ्जलाई केन्द्रविन्दु बनाएर त्यस क्षेत्रका अस्पतालहरुलाई समेट्दै रेफरल प्रणालीको विकास गरी विरामीहरुलाई छिटो तथा छरितो सेवा दिन आफुहरु लागि परिरहेको नेपाल मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले बताए ।
कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. कनौडियाले नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको मेडिकल कलेज २० वर्ष अगाडि पश्चिम नेपालमा ठूलो चूनौतिका साथ आफूहरुले शुरु गरेको बताउँदै सोमबार आफूले गुणस्तरीय स्वास्थ्यकर्मी तथा सुलभ स्वास्थ्यसेवा पश्चिम नेपालमा पुर्याईरहेको स्पष्ट पारे ।
चिकित्सा सेवामा दक्ष जनशक्ति र त्यही अनुसारको प्रविधिकहरुको समायोजन गरी उच्चस्तरको सेवा पुर्याउन नेपालमा अझैपनि चूनौति रहेको र त्यसका लागि आफूहरुले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको डा. कनौडियाले बताए । नेपालको भौगोलिक अवस्थाको कारणले स्वास्थ्य सेवालाई सबै जनताहरुको बीचमा सहजताका साथ लैजान विभिन्न अवरोधहरु भएपनि यसप्रकारको सहकार्यले विरामीहरुलाई राहत पुग्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।
नेपालबाट बर्षेनी २ लाखको हाराहारीमा नेपालीहरु उपचारका लागि भारत लगायतका देशहरु गैरहेको अवस्थामा अब नेपालीहरुलाई उपचारको लागि विदेश जानु नपर्ने उद्देश्यका साथ नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गरिरहेको रिमालको भनाई थियो ।















प्रतिक्रिया