२२ कार्तिक २०८३, आइतबार

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा आईतबार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको छ । नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन् ।

भेटमा उर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देशको बीचमा सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरे । उनले बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको समेत बताए ।

ब्रिटिस संसदीय प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पुनले उर्जा, जलस्रोत र सिंचाईको क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा राखे । भेटमा मन्त्री पुनले उर्जामन्त्रालयको १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने योजना रहेको भन्दै त्यसको लागी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताए ।

‘अहिले हामीसँग १ हजार मेगावाट मात्र विजुली उत्पादन हुन्छ, तर, हामीसँग १ लाख मेगावाट उत्पादन गर्ने क्षमता छ । १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादनको लक्ष्य पुरा गर्नको लागी हामीलाई नीजि क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ’ मन्त्री पुनले भने । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे ।

भेटमा बेलायती सांसदहरुले नेपालको उर्जा, सौर्य उर्जा र जलस्रोतको क्षेत्रमा सरकारको नीति र योजनाबारे चासो राखेका छन् । बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राखे । उनले बेलायत युरोपियन युनियनबाट अलग भएपछि यस्ता खालका द्धिपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजवुत बन्ने धारणा राखे ।

भेटमा बेलायती सांसदहरुले नेपालमा विजुलीको अवस्था, जलविद्युतले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमहरुको बारेमा समेत चासो राखे । भ्रमण दलमा बेलायती सांसदहरु डेभिड मोरिस, विरेन्द्र शर्मा, केरी मेकर्थी, लोर्ड बाल्फे र लोर्ड ढोलकिया रहेका छन् ।