२२ कार्तिक २०८३, आइतबार

असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाऔँ : सभामुख महरा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताएका छन् । डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको शनिबार काठमाडौँमा लोकार्पण गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

देशको व्यापार सन्तुलन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने बताउँदै सभामुख महराले भने, ‘मुख्यगरी कृषिमा उत्पादकत्व बढायौँ र कृषकहरुको सिर्जनशीलतालाई सही ढंगले सदुपयोग गर्‍यौँ भने आत्मनिर्भर बन्नका लागि देशभित्रै धेरै उत्पादन गर्न सक्छौँ ।’

देश साधन स्रोत, श्रम र सीपका दृष्टिकोणले धनी भएको बताउँदै सभामुख महराले आफूसँग भएको स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने सही योजनाको खाँचो भएको बताए । ‘हामीसँग भएको स्रोत, साधन, श्रम र सीपको प्रयोग गर्ने सही योजनाको खाँचो छ’ उनले भने, ‘त्यस्तो योजनाको खाँचो पूर्ति गर्न गणेशजीको यो पुस्तकले महत्वपूर्ण योगदान गर्छ भन्ने मलाई विश्वास छ ।’

लेखक जोशीले कृषि र वन क्षेत्रमा लामो समय काम गरेर अनुभव हाँसिल गरेको भन्दै सभामुख महराले अध्ययनका क्रममा आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई पुस्तकमा केन्द्रीत गरेको बताए । पुस्तकमा नेपालको कृषि अर्थतन्त्रका चुनौती र अवसरहरुका साथै समस्याहरु के छन् भन्ने पनि राम्रोसँग संकेत गरिएको महराले बताए ।

अर्थमन्त्री छँदा वीरगञ्जको एउटा दाना उद्योगमै विहारबाट ५ सय क्वीन्टल मकै आउने गरेको थाहा पाएको भन्दै सभामुख महराले देशमा धेरै मकै उत्पादन हुँदा पनि आफ्नो उत्पादनको व्यापार सन्तुलन मिलाउन नसकिएको बताए । कार्यक्रममा डा. माधव कार्की र डा. यमबहादुर थापाले पुस्तकको समीक्षा गरेका थिए । १४ खण्डमा बाँडिएको डा. जोशीको पुस्तक कृषि क्षेत्रको खोज, अनुसन्धानमा आधारित रहेका छ ।