काठमाडौँ, ७ वैशाख । सर्वाजनिक यातायातका साधनहरुलाई बालश्रमरहित बनाउने अभियानको तेस्रो दिन शुक्रबार लगनखेल बसपार्कबाट ६ जना बालकहरुको उद्धार गरिएको छ । सो क्षेत्रका सार्वजनिक यातायात बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतका सवारी साधनहरुबाट उनीलाई उद्धार गरिएको केन्द्रीय बालकल्याण समितिले जानकारी दिएको छ ।
उनीहरुलार्ई श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा उद्धार गरिएको हो । श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदय कुमार गुप्ताको नेत्रृत्वमा सुरु गरिएको सो अभियानबाट वैशाख ७ गते शुक्रबार १५५ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टाँसिएको छ ।
अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका ६ जना बालकहरुलाई उद्धार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको बताइएको छ । सो अभियानलाई निरन्तरता दिइने समितिले जनाएको छ ।












प्रतिक्रिया