–मिना बुढाथोकी
सल्यान, ६ वैशाख । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्पादित घरेलु मदिरा नियन्त्रणमा लिँदै नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय सल्यानले थालेको अभियान जारी राखेको छ । जस अन्तरगत जिलाको लुहाममा बजार आसपासका होटलबाट ठुलो मात्रामा नियन्त्रणमा लिएको मदिरा बिहिवार नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले स्थानीय जनप्रतिनिधि, नागरिक समाज, समाजसेवी र पत्रकारको रोहबरमा करिब एक हजार चार सय लिटर अवैध घरेलु मदिरा तथा मदिरा जन्य पदार्थमा प्रयोग गरिने औषधी जडीबुटी लगायतका पदार्थ नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटबाट खटिएको प्रहरीको टोलीले त्रिवेणी गाउँपालिकाका लुहाम, शखमुल, काभ्रा, ढुंगीबजारलगायतका क्षेत्रबाट एक हजार चार सय लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत बहादुर विकले जानकारी दिए ।
उनका अनुसार घरेलु मदिरा एक हजार ८० लिटर, मदिरा बनाउन प्रयोग हुने द्धारे नामक जडिबुटि १० बोरा, मदिरा बनाउन प्रयोग गरिने ११ कार्टुन औषधी करिब तीन सय किलो बरामद गरि नष्ट गरिएको छ । घरेलु मदिरा सेवनकै कारण अपराधिक गतिविधि बढ्ने र शान्ति सुरक्षा एवम् अमन चयनमा खलल पुर्याउने भएकाले अवैध रुपमा उत्पादन गरिएको मदिरा नष्ट गर्ने अभियान नै चलाइएको प्रहरी प्रमुख विकले बताए ।
उनले भने, ‘जिल्लाका घटनाक्रमलाई नियाल्ने हो भने मदिरा सेवनका कारण अपराधिक क्रियाकलाप बढि मात्रामा भएको आइएको छ । मदिरा सेवनका कारण नै महिला हिंसाका घटना पनि बढि रहेका छन् ।’ यस्तै मदिरा सेवनले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याई रहेकाले औषत आयु समेत कम भइरहेका कारण अवैध मदिरा उत्पादन, विक्री वितरणलाई न्युनिकरण गर्न प्रहरीले यो अभियान थालेको उनले बताए ।
‘जिल्लामा हुने गरेका अपराधिक क्रियाकलापहरुको प्रकृति हेर्ने हो भने करिब ९० प्रतिशत भन्दा बढि घटना मदिराका कारणले भएका छन’ उनले भने ‘यहाँ हुने गरेका आपराधिक क्रियाकलापहरुको मुख्य कारक तत्व भनेको घरेलु मदिरा नै हो । तसर्थ घरेलु मदिरा उत्पादन, विक्री वितरण र सेवनमा नियन्त्रण गर्न जरुरी छ ।’
शान्ति सुरक्षालाई मजबुत बनाउन पनि अवैध रुपमा उत्पादन गरिएका घरेलु मदिरा नष्ट गर्ने अभियान प्रहरीले थालेको हो । जिल्लाका सबै स्थानमा यस प्रकारको अभियान सञ्चालन गरिएको बताउँदै प्रहरी प्रमुख विकले यस प्रकारको अभियान सफल बनाउन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
यसअघि पनि प्रहरीले शारदा नगरपालिकाको खलंगा, बरला र मधाना विभिन्न घरहरुबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको थियो । पहिलो चरणमा चैत २ गते जिल्ला सदरमुकाम खलंगालगायतका क्षेत्रबाट करिब १ हजार १ सय ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।डीएसपी विकका अनुसार शारदा नगरपालिकाका ३ वटा वडाबाट बरामद गरिएको २ सय ३६ लिटर घर पालुवा रक्सी, ९ सय ३० लिटर रक्सी बनाउन प्रयोग गरिने जाँड र २ किलो रक्सी बनाउन प्रयोग गरिने औषधी नष्ट गरिएको थियो ।












प्रतिक्रिया