
काठमाडौं, ५ बैशाख । पहिचानमा आधारित संघीय गठबन्धनले युरोपियन युनियनले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले इयुको प्रतिवेदन लागू गर्न आग्रह गरेको हो । इयुको प्रतिवेदन लागू नगरिए सरकारविरुद्ध कडा कदम चाल्ने पनि गठबन्धनले चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनमा आवद्ध खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले खस र आर्य भिन्नाभिन्नै समुदाय भएकोले संविधानमा पनि खस र आर्यलाई एउटै समूहमा राख्न नहुने धारणा राखे । उनले भने, ‘खस र आर्यलाई भिन्नै समूहमा राख्नुपर्छ, खसलाई आदिवासीमा सूचिकृत गर्नुपर्छ ।’
कार्यक्रममा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष एवम् पूर्व सांसद आर.के. खुम्बुले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिचान विरोधी भएको आरोप लगाए । उनले भने, ‘ओलीजी संघीयता विरोधी मान्छे हो, उहाँले संघीयतालाई असफल तुल्याउन विभिन्न चलखेलहरु गरिरहनुभएको छ ।’ उनले आफूहरुलाई पहिचान नदिइए बन्दुक उठाउन पनि तयार रहेको चेतावनी दिए ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानमा आधारित संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संघीयतालाई सिध्याउने गरि ल्याइएको ७ प्रदेशलाई हामी मान्दैनौं, ७ प्रदेशलाई पुनः सख्याकरण गरि ऐतिहासिक पृष्ठभूमि एव्म पहिचानका आधारमा थप प्रान्तहरु निर्माण गरिनुपर्छ, पहिचानविरोधी संघीयता र संविधान हामी मान्दैनौं ।’ पहिचान विरोधी संविधानको विरुद्धमा थप संघर्ष गर्नपनि आफूहरु तयारी रहेको उनको चेतावनी थियो ।
आदिवासी जनजाति पार्टी नेपालका अध्यक्ष तामाङ बुद्धराज स्याङ्तानले गाई काटेर खाने आफूहरुको सनातन पहिचान भएकोले गाई काटेर खान पाउनुपर्ने धारणा राखे । उनले भने, ‘गाईको टाउको हाम्रो कुलमा राखिन्छ, गोपालवंशमा पनि गाई काटेर खाईन्थ्यो, पछि राज्य एकीकरणको क्रममा हामीले काटेर खाँदै आएको गाइ खान प्रतिबन्ध लगाईयो, यसले हाम्रो पहिचान खोसेको छ ।’ उनले आफूहरुले गाई काटेर खान पाउनुपर्ने माग गरे ।
नेपा राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले काठमाडौं उपत्यकाका आदिवासी नेवारहरुको जमिन कब्जा गर्दै वस्तीहरु विस्थापित हुनेगरि सडक निर्माण गर्ने कार्य तत्काल रोक्नुपर्ने माग गरे । उनले नेवारहरुको पहिचानमा आधारित राज्य हुनुपर्नेमा जोड दिए ।
सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले सुनसरीको धरानको ऐतिहासिक किराँत लिम्बुवान क्षेत्रमा जबरजस्ती निर्माण गर्न लागिएको खानेपानी ट्याँकी तत्काल बन्द गर्न आग्रह गरे । उनले भने, ‘भोजपुरको घोडेटार र मगरातको ढोरपाटनमा आदिवासी सभ्यतामाथि गरिएको अतिक्रमण तत्काल बन्द गर्नुपर्छ ।’
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पहिचानसहितको संघीयता माग गर्दै कैलालीको टिकापुरमा भएको घट्नामा मानसिक असन्तुलन भएको ११ वर्षीय बालकसहित २६ जना निर्दोष थारु नेताहरुलाई अढाई वर्षदेखि कुनै सुनुवाई बेगर जेलमा बन्दी बनाईनु दुःखद् र रंगभेदी कार्य भएको आरोप लगाए ।
त्यस्तै तामाङ सालिङ लोकतान्त्रिक पार्टीका अध्यक्ष सिंहमान तामाङ्ले पहिचानसहितको संघीयता स्थापना गर्नको लागि सबै एकजुट भएर सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
गठबन्धनले आदिवासीसँग सम्बन्धित बिदाहरु सरकारले काटेको विरुद्ध आपत्ति जनाएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल आदिवासी जनजाति महासंघले यही बैशाख ७ र २२ गते घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुप्रति गठबन्धनको पूर्ण समर्थन र साथ छ ।’












प्रतिक्रिया