
चितवन, ५ बैशाख । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन तथा सम्मान कार्यक्रम बुधबार गरिएको छ ।
केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा केन्द्र स्थापनामा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गृहमन्त्री राम बहादुर थापाले कालिका नगर भर्खरै मात्र स्थापना भएको नगरपालिका भएकोले यसको भौतिक एवम् अन्य विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताए । यस क्षेत्रकै महत्वपूर्ण अस्पतालको रुपमा विकास हुँदै गएको केन्द्रलाई स्तरोन्नतीको लागि आफ्नो तर्फबाट पहल गरिने समेत उनले बताए ।
यस क्षेत्रमा स्वास्थ्यका अतिरिक्त खानेपानी, सडक लगायतका हरेक समस्याहरु रहेकोले यसको क्रमशः हल गरिने समेत उनको भनाइ थियो ।
नगर क्षेत्रमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्न आफू र सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री थापाले यस नगरपालिकाको क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना गर्न आफूले सकारात्मक ढंगले काम अगाडि बढाएको समेत बताए । कालिका नगरको विकासको लागि सधैँ आफू लागिपर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।
गृहमन्त्री थापाले बुधबार नै खैरहनी नगरपालिकामा संचालित क्रिकेट खेलको उद्घाटन गरेका थिए भने शक्तिखोर स्थित चर्तुमुखी मा.वि. मा विद्यार्थी भर्ना अभियानमा सरिक भई विद्यार्थीको भर्ना समेत गराएका थिए । त्यस्तै उनले जुटपानी प्रहरी चौकीको भवन शिलान्यास र पदमपुरमा नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई भेटघाट समेत गरेका थिए ।












प्रतिक्रिया