काठमाडौँ, ३० चैत । भ्रष्टाचार नियन्त्रणका लागि समाजका हरेक व्यक्तिमा सदाचार र जवाफदेहिता हुनुपर्ने यस क्षेत्रका विज्ञले जोड दिनुभएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘आजको आवश्यकता : सदाचार शिक्षा र युवा/महिलाको सक्रियता’ विषयको कार्यक्रममा वक्ताले भ्रष्टाचार नियन्त्रणमा युवा र महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सरकारका पूर्वमुख्यसचिव डा ईश्वरप्रसाद उपाध्यायले व्यक्तिको नियत सफा भयो र प्रणालीका आधारमा काम हुने हो भने धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुने बताउनुभयो । टिआई नेपालका अध्यक्ष श्रीहरि अर्यालले सुशासनको बहाली र भष्टाचार नियन्त्रण गर्न कानूनको अक्षरशः पालना हुनुपर्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता सविता बरालले पूर्वीय दर्शनमा आधारित नैतिक शिक्षा र ज्ञान ह्रास हुँदै जाँदा व्यक्तिमा सदाचारको ज्ञान पनि घट्दै गएको उल्लेख गर्दै बालबालिकालाई विद्यालयको पढाइसँगै नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले सरकारका मन्त्री र सांसदले आफ्नो तलब आफैँ बढाउनु सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार भएको बताउँदै भ्रष्टाचार गर्नेलाई माफी दिने प्रचलनबाट यसले प्रश्रय पाएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रा डा प्रकाश भट्टराई, टिआई नेपालका महासचिव पद्मिनी प्रधानाङ्ग, पत्रकार आदित्यमान श्रेष्ठलगायतले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो घरबाटै शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण सम्बन्धमा तयार गरिएको प्रतिवेदन, ‘सत्ता र सदाचार’ नामक पुस्तक र विसं २०७५ को भित्तेपात्रो विमोचन गरिएको थियो । –रासस












प्रतिक्रिया