
–पुनहरि बेल्बासे
रुपन्देही, २६ चैत । भैरहवा–लुम्बिनी सडक खण्डको तिनाउ पुल छेउबाट दिनदहाडै बालुवा उत्खनन् भएको छ । तिनाउ पुलको पिल्लर नजिकैबाट दिनदहाडै स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको हो ।
पुल निर्माणको जिम्मा पाएको पप्पु बाम्ति जेभिले नै पुलको नजिकैबाट उत्खनन् गरेको हो । सामान्यतया पुलको ५ सय मिटर दायाँ र बाँया बाट निकासी गर्न पाइँदैन । तर सो कम्पनीले पुलको ५० मिटर पर नगई पुल निर्माण प्रयोजका लागि नदीजन्य सामाग्री निकालेको हो । चालु आर्थिक वर्षमा रुपन्देहीमा कुनै पनि खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न जिल्ला समन्वय समितिले अनुमति दिएको छैन ।
भैरहवा–लुम्बिनी सडक खण्डको सुन्डीमा पर्ने उक्त पुलको छेउबाट नदीजन्य पदार्थ उत्खनन् भएको बारे बुझ्न जिल्ला समन्वय समिति रुपन्देहीका वातावरण शाखाका अधिकृत उपेन्द्र ज्ञवालीलाई पटक पटक सम्पर्क गर्ने प्रयास गरिएपनि उनी सम्पर्कमा आएनन् ।
उता तिनाउ पुल निर्माण गर्ने साइड इन्चार्ज उमेश चौधरीले भने बामती भण्डार निर्माण सेवा कम्पनीले निर्माण गरेको बताउँदै कम्पनीको नाम नै फरक पारेर सञ्चारकर्मीलाई जानकारी दिए । चौधरीले पुल निर्माण गर्दा जेसीभी लगाएरै जताबाट पनि उत्खनन् गर्न पाउने बताए ।
विस २०७१ साल असार २५ गते पप्पु बाम्ति जेभिले कुल ६ करोड २५ लाख ६ हजार २ सय १२ रुपैयाँमा २०७३ पुस २४ मा सम्पन्न गर्ने जिम्मा पाएको थियो । उक्त कम्पनीले समयमै निर्माण सम्पन्न गर्न नसकेपछि पहिलो पटक २०७४ असार २४ मा सम्पन्न गर्ने गरि म्याद थप्यो र काम पूरा नभएपछि दोस्रो पटक २०७५ असार २३ गते सम्पन्न गर्ने गरी म्याद पाएको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख कैलाश गरुङले बताए ।
पुलको छेउबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको विषयमा भने डिभिजन प्रमुख श्रेष्ठ केही बोल्न चाहेनन् । पटक पटक म्याद थप भएतापनि पुलको काम भने अहिलेसम्म पिल्लर मात्रै ठडाइएको छ । हाल उक्त बालुवा निकाल्न प्रयोग गरिएको एक्साभेटर इलाका प्रहरी कार्यालय बेथरीको नियन्त्रणमा रहेको प्रहरी सहायक निरिक्षक चिन्तामणि न्यौपानेले जानकारी दिए ।












प्रतिक्रिया