
-बेलिना थापा
लमजुङ, २५ चैत । जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले अब स्थानीय तहबाटै सेवा पाउने भएका छन् । हरेक स्थानीय तहमा अपाङ्गता समन्वय समिति गठन गरी त्यो समितिले सेवा दिनेछ । तर, स्थानीय तहमा त्यो काम हुन सकेको छैन । बेंसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाइले छिट्टै समति गठन गरि अपाङ्गता भएकालाई सहज रुपमा सेवा दिइने बताए । उनले बेंसीशहर नगरपालिकाले पनि त्यो विषयमा सोचेको बताए ।
आइतबार सदरमुकाम बेंसीशहरमा अपांगता सम्बन्धी एक दिने अभिमुखीरकण गोष्ठीमा बोल्दै दनाईले सो कुरा व्यक्त गरेका हुन् । अपाङ्ग संरक्षण समाज लमजुङ, नेत्रहिन संघको आयोजनामा एवं महिला तथा बालबालिका कार्यालय लमजुङ शिविर कार्यक्रमको सहयोगमा कार्यक्रम संचालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले अपाङ्गता भएका व्यक्तीहरुमा छुट्टै प्रकारको प्रतिभा रहने बताए । अपाङ्गता भएता पनि सपांगले भन्दा राम्रा काम गर्न सक्ने भएकाले अझै उत्साहका साथ काममा लाग्नुपर्ने बताए । राज्यले पनि अपाङ्गता भएका व्यक्तीलाई महत्व दिएको र प्राथमिकतामा राखेकाले राम्रा अवसर पाउने सकिने बताए । मैनालीले अब स्थातीय सरकारबाटै सेवा सुविधा दिइने भएकाले झनै सहज हुने बताए ।
प्रहरी नायव परिक्षक पदमबहादुर विष्टले अपाङ्गताको गुनासोलाई प्रहरीले पनि पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । उनीहरुलाई कार्यालयमै सहज रुपमा बस्ने व्यवस्था मिलाई गुनासो सुन्ने गरेको बताए ।
कार्यक्रममा महिला विकास अधिकृत विष्णुमाया पौडेलले अपाङ्गताको परिचय, प्रकार, उनीहरुलाई दिइएको सेवा सुविधा, अपाङ्गताके छनौट जस्ता विषयमा सहजीकरण गरेकी थिइन् । उनले महिला तथा बालबालिका कार्यालयबाट चार प्रकारका कार्ड (क, ख, ग र घ बर्गका कार्ड) अपाङ्गताको प्रकृति हेरेर वितरण गर्दै आएको बताइन् ।
नेत्रहिन संघ लमजुङका अध्यक्ष विष्णु पोखरेलले नेपालमा विद्यमान कानुन कानुनको विषयमा जानकारी गराए । सोही अवसरमा अपाङ्गता भएका व्यक्तीहरुलाई सहायता सामाग्री बैशाखी, छडी, पेटि वितरण गरिएको छ । २० जना अपाङ्गता भएका व्यक्तीलाई चार बर्गका परिचयपत्र वितरण गरियो ।












प्रतिक्रिया