२२ कार्तिक २०८३, आइतबार

यस्ता वडाअध्यक्ष, जसले बजेट बढी भएको विरोधमा तालाबन्दी गरे !

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । अहिले देशमा तीन वटा सरकार छन् । सबैले आ–आफ्नो कामको शुरुवात गरिसकेका छन् । स्थानीय तहको निर्वाचन भएको त एक वर्ष नै पुगिसकेको छ । यतिबेला स्थानीय तहले विकास निर्माणका तथा विभिन्न पूर्वाधार निर्माणका काम गरिरहेका छन् । धेरै ठाउँमा बजेटको अभाव भएको समाचार सार्वजनिक हुन्छन् । बजेट अभावका काम प्रभावित भएको देखिन्छ/सुनिन्छ ।

तर, अछामको बान्नीगढी–जयगढ गाउँपालिका ३ का वडाअध्यक्ष कुलबहादुर सेट्ठीले भने बजेट बढी भएको भन्दै तालाबन्दी गरेका छन् । सडक निर्माणमा आफूले सिफारिस गरेको भन्दा बढी रकम गाउँपालिकाबाट भुक्तानी भएको विरोधमा उनले आफ्नै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाको जयगढ–बेलपाटा–चापाधारा सडक योजनामा आफूले १२ लाख रकम निकासाको सिफारिस गरेकोमा गाउँपालिकाले १७ लाख भुक्तानी गरेको भन्दै कार्यालय बन्द गरेर सेट्ठीले प्राविधिक फाँटमा चाबी बुझाएका छन् ।

वडा कार्यालय बन्द भएपछि वडाका सबै प्रकारका कामकाजहरु रोकिएका छन् । अध्यक्ष सेट्ठीले वडा अध्यक्षको काम कर्तव्य र अधिकार क्षेत्र मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएको बताए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले असन्तुष्टीलाई प्रक्रियागत रुपमा नराखेर वडामा तालाबन्दी गरेर कर्मचारीलाइ चाबी बुझाउन नहुने बताए । वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयबाट वडावासीहरुले पाउने, सिफारिस, पञ्जिकरण लगायतका सेवा ठप्प भएका छन् । वडा परिषद्ले उक्त सडक निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

यो गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले गठबन्धन गरी जितेका थिए । वडा कार्यालयमा तालाबन्दी गरेकोमा नेकपा माओवादी केन्द्र बान्नीगढी–जयगढ गाउँपालिका कमिटीले वडा अध्यक्षले जनमतको कदर गर्न नसकेको भन्दै गैरजिम्मेवारपूर्ण तरिकाले आफ्नो व्यक्तिगत स्वार्थका कारण वडाको काम रोकेको आरोप लगाएको छ ।