काठमाडौं, २४ चैत । आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसद्मा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले छान्न नसकेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन् । तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसद्को पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेताविहीन छ ।
ठाकुर, महतो र यादव सर्वसम्मत संसदीय दलको नेता बन्न खोजेका छन् । निर्वाचन सकिएको पाँच महिना बितिसक्दा समेत विवादकै कारण राजपा नेपालले संसदीय दलको नेता छान्न नसकेको हो । पटक–पटक बैठक बसे पनि सर्वसम्मत नेता छान्न पार्टी संसदीय दल असफल बनेको हो ।
ठाकुर र महतोले संसदीय दलको नेता बन्न पार्टीभित्र तीव्र लबिङ गरे पनि यस विषयमा केही बोलेका छैनन् । उनीहरूले दलको नेता छिट्टै चयन हुने बताउँदै आएका छन् । प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा राजपा नेपालका २ सांसद छन् । ठाकुर र महतो निकटका नेताले पार्टीभित्र लबिङ गरिरहेका छन् ।
ठाकुर निकटका एक नेता विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक ठाकुर भएकाले उनलाई नै नेता चयन गरी पार्टीलाई बलियो बनाउनुपर्ने बताउँछन् । तर, महतो निकटका नेताले पार्टीलाई तीव्र रूपमा अगाडि बढाउन संसदीय दलको नेता महतो हुनुपर्ने बताउँछन् । पार्टीलाई बलियो बनाउँदै संसद्मा खरो रूपमा उत्रिन महतो दलको नेता नभइनहुने अवस्था रहेको उनीहरूको तर्क छ ।
राजपा नेपालबाट प्रतिनिधिसभामा प्रत्यक्ष्यतर्फ निर्वाचन जितेका ११ सांसदमध्ये ५ सांसद पुरानो सद्भावना पार्टीका हुन् । महतो, लक्ष्मणलाल कर्ण, प्रमोद साह, रेशम चौधरी, चन्द्रकान्त चौधरी पुरानो सद्भावनाका भएकाले महतोको पक्षमा रहेका छन् ।
ठाकुर र एकबाल मियाँ पुराना तमलोपाका नेता हुन् । बाँकी चार सांसद शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा पुराना चार पार्टीका अध्यक्ष हुन् । महेन्द्रराय यादव आफू नभए ठाकुरलाई समर्थन गर्ने पक्षमा छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ राजपा नेपालले पाएका ६ सांसदमा दुई ठाकुरको र दुई महतोको पक्षका सांसद छन् । चन्दा चौधरी र दुलारी देवी खाँड ठाकुर निकटका र अमृता अग्रहरी र नरमाया ढकाल महतो निटकका सांसद हुन् । बाँकी दुईमध्ये निर्जला राउत भण्डारी निकट र रानी मण्डल झा निकट सांसद हुन् ।
राजपा नेपालको संसदीय दलको नेता छनोटमा भण्डारी, झा र यादवको निर्णायक भूमिका छ । तर, उनीहरू अझै कतै खुलेका छैनन् । खुल्न नसकेका सांसदलाई आफ्नो पक्षमा पार्न ठाकुर र महतो लागिपरेका छन् ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले संसदीय दलको नेता छिट्टै चयन गरिने बताए । संसदीय दलको नेता छनोट गर्दै प्रमुख सचेतक एवं सचेतक छनोट गरिने उनले बताए । दलको नेता छनोट गर्न पार्टीभित्र कुनै किसिमको विवाद नरहेको दाबी उनले गरेका छन् ।
राजपा नेपालका महासचिव अजय गुप्ताले अध्यक्ष मण्डलको बैठकले पार्टीको पहिलो स्थापना दिवस ७ वैशाखमा मनाउने निर्णय गरेको छ । विभिन्न ६ पार्टी मिली गत ७ वैशाखमा राजपा नेपालको घोषणा भएको थियो ।
८ वैशाखमा राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको उनले बताए । राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने उनले बताए । पार्टीको महाधिवेशन सम्पन्न गर्न पार्टीको विधान, नियमावली, निर्देशिकालगायत आवश्यक प्रतिवेदन तयार गरी अध्यक्ष मण्डलको बैठकमा पेस गर्ने जिम्मेवारी नेता लक्ष्मणलाल कर्णलाई दिइएको छ ।
यसैगरी, पार्टीका सांसदले १० हजार लेबी पार्टीलाई बुझाउनुपर्ने निर्णय संसदीय दलको बैठकले गरेको छ । प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा दुई सांसद राजपा नेपालका छन् ।












प्रतिक्रिया