
काठमाडौं, २२ चैत । सभामुख कृष्णबहादुर महराले पत्नी वियोगको पीडामा रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सान्त्वना दिएका छन् ।
बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै मदनकृष्णलगायत परिवारलाई समवेदना व्यक्त गरेका हुन् ।
नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हुने भन्दै सभामुख महराले विज्ञानको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको बताए । ‘जे हुनु भइसक्यो, अब आत्मबल बलियो बनाउनुस’, महराले भने, ‘हामी तपाईंको साथमा छौं ।’
भेटमा वरिष्ठ अभिनेता श्रेष्ठले आफूलाई दुःख परेको बेला घरमै आएर सान्त्वना दिदा आफ्नो आत्मबल बढेको बताए । आफूले परम्परागत र गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको भन्दै श्रेष्ठले मृत्यु संस्कारमा केही परिमार्जन गर्न खोजेको पनि बताए ।












प्रतिक्रिया