
काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाईपास स्थित नेहा सव मनि ट्रान्सफरबाट भाग्यसाली चिट्ठा परेको भनी आईएमईमा पैसा पठाउन लगाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–२ साङला घर भएका १७ बर्षीय यादव तिमल्सिना र सोही नगरपालिका–२ काभ्रेस्थली घर भएकी १७ बर्षीया नम्रता चापागाई रहेका छन् ।
उनीहरुलाई मंगलबार उक्त मनी ट्रान्सफरबाट पैसा निकाल्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैबीच, काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित होटल ल्याण्डमार्कको चौथो तलामा जुवा तास खेलीरहेका ६ जनालाई प्रहरीले मंगलबार नगद १ लाख ३६ हजार ७ सय रुपैयाँ र तिन बुक तास सहित पक्राउ गरेको छ ।
उता, उदयपुर कटारी घर भएका ३६ बर्षीय रविन्द्र बहादुर खड्का सहित ३ जनालाई प्रहरीले मंगलबार ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गबाट अदाजी १ फिट ६ ईन्चको १ वटा हात्तीको दाह्रा सहित पक्राउ गरेको छ ।












प्रतिक्रिया