२२ कार्तिक २०८३, आइतबार

आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: हरि बास्तोला/रासस

पोखरा, २० चैत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

एकसठ्ठीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ कास्कीद्वारा मंगलबार यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन सक्नुपर्दछ ।”

अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहमा सहकारीसम्बन्धी नीति तथा कानून बनाउँदा सम्बन्धीत सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै भन्नुभयो , “सहकारीले सस्तोमा रकम संकलन गर्ने र महँगो दरमा लगानी गर्नुभन्दा उद्योग धन्दा, ऊर्जा र कृषिलगायत क्षेत्रमा लगानी गरेर स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ लाग्नुपर्ने आजको आवश्यकता छ ।”

सो अवसरमा उहाँले कास्की बचत तथा ऋण सहकारी संघद्वारा प्रकाशित कास्की सहकारी श्रृंखला अंक दुईको लोकार्पण पनि गर्नुभयो । प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लोकबहादुर थापाले मुलुकको परिवर्तित अवस्थामा सहकारी आन्दोलन नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरेर प्रदेश नं ४ लाई नमूना प्रदेश बनाउन प्रादेशिक सरकार योजना बनाएर लाग्ने तयारीमा जुटेको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य एवं सहकारीकर्मी प्रभा कोइरालाले सहकारीलाई संख्यात्मकभन्दा पनि गुणात्मक विकासमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर क्षेत्रीले सहकारीको नीति, कानून निर्माणमा स्थानीय तहबाट सक्दो सहयोग गर्ने बताउँदै सहकारीमा संकलित पुँजीलाई उद्यमशीलतातर्फ लगानी गर्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सहकारीमा नैतिक, चारित्रिक र आर्थिक इमान्दारीता हुनुपर्ने बताउनुुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय दुग्ध विकास संघका युवराज पराजुली, संघका उपाध्यक्ष बलराम गौतमलगायतले कास्कीको सहकारीका गतिविधिका विविध पक्षमाथि प्रकाश पार्नुभयो । –रासस