२२ कार्तिक २०८३, आइतबार

डाक्टर तालिम र विदामा गएपछि शव परीक्षणमा समस्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २० चैत । दार्चुला जिल्लाको गोकुलेश्वर अस्पतालमा रहेका दुबैजना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ ।

मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो ।

मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल नजिक भएका कारण शव गोकुलेश्वर लगिएको थियो । मजदूरी गर्न मार्मा गाउँपालिका पुगेका सोनाह झुण्डिएको अवस्थामा फेला परेका थिए ।

गोकुलेश्वर अस्पतालमा रहेका प्रमुख डा सरिता जोशीले परीक्षाका लागि चैत पहिलो साता अस्पताल छाडेकी छिन् । अर्का डाक्टर गोमा धामी सुरक्षित गर्भपतनसम्बन्धी क्षेत्रीय तालिमको लागि धनगढी गएकी छिन् । गत चैत ११ गते जानुभएकी धामीको तालीम चैत २२ गते मात्रै सकिँदैछ ।

दुवै जना डाक्टर नभएपछि अहिले शव परीक्षण मात्र हैन सामान्य बिरामीको चेकजाँचमा समेत समस्या भएको छ । गोकुलेश्वरमा लगिएको शवलाई जिल्ला अस्पताल ल्याएर सोमबार परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।

जिल्ला अस्पताल दार्चुलामा एकजना मात्रै डाक्टर छन् । त्यहाँ एमजिडी डाक्टर दीपेश मंगल जोशीले शव परीक्षण गरेका हुन् ।